Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

काठमाडौं, १३ भदौ २०८० । एसिया कप क्रिकेटमा आज बुधबार नेपालले पाकिस्तानसँग खेल्दैछ । खेल पाकिस्तानको मुल्तानमा नेपाली समय अनुसार आज दिउसो सवा ३ बजे सुरु हुनेछ । पाकिस्तानविरुद्धको खेल नेपालको लागि निकै कठिन हुनेछ । एक दिवसिय विश्व वरियतामा पाकिस्तान शिर्ष स्थानमा रहेको छ भने नेपाल १५ औं स्थानमा रहेको छ ।

नेपालले एसिया कप क्रिकेटमा सहभागिता जनाउने अवसर पाएको यो पहिलो पटक हो । एसियाको यो प्रतिष्ठित क्रिकेट प्रतियोगिताको १६ औ संस्करण पाकिस्तान र श्रीलंकाले संयुक्तरुपले आयोजना गर्दैछ ।

प्रतियोगिताको दोस्रो खेलमा नेपालले सोमबार श्रीलंकाको क्यान्डीमा भारतसँग खेल्नेछ । ६ टोली सहभागि एसिया कपको समुह ए मा नेपाल, भारत र पाकिस्तान तथा समुह बि मा श्रीलंका, बंगलादेश र अफ्गानिस्तान रहेका छन् । गत बैशाखमा सम्पन्न एसीसी प्रिमियर कपमा अपराजित रुपमा च्याम्पियन बन्दै नेपाल एसिया कपका लागि छनोट भएको हो ।

एसिया कपका खेलहरु आजदेखि भदौं ३१ गतेसम्म पाकिस्तान र श्रीलंकामा हुँदैछन् । प्रतियोगिताका १३ मध्ये ४ खेल पाकिस्तान र ९ खेल श्रीलंकामा हुनेछ ।

 

तपाईको प्रतिक्रिया