Online Bichar
आइतबार, फाल्गुण २०, २०८० | Sunday, March 3, 2024

काठमाडौं, २० असार २०८० । चालु आर्थिक वर्षमा वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिने नेपालीको संख्या ठूलो संख्यामा बढेको छ ।

वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्षको असार १६ गतेसम्म वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या ७ लाख ४० हजार रहेको छ ।

अघिल्लो आर्थिक वर्षभर झन्डै ६ लाख ३० हजार जनाले नेपालबाट वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका थिए । विभागले आर्थिक वर्ष २०५०/५१ यता वैदेशिक रोजगारीमा जानेको तथ्याङ्क अद्यावधिक गर्दै आएकामा चालु आर्थिक वर्षमा यसरी श्रम स्वीकृति लिनेको संख्या हालसम्मकै उच्च देखिएको हो ।

नेपालबाट वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्याले नयाँ रेकर्ड बनाएको छ । वैदेशिक रोजगारीका लागि नेपालीहरु सबैभन्दा धेरै मलेसिया तथा खाडी मुलुक जाने गरेको वैदेशिक रोजगार विभागका सूचना अधिकारी तथा निर्देशक गुरुदत्त सुवेदीले जानकारी दिनुभयो ।

सुवेदीका अनुसार पछिल्लो समय युरोप जानेको संख्या पनि बढ्दो क्रममा छ । वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर क्रोएसिया, साइप्रस, फ्रान्स, पोल्यान्ड, रोमानियाजस्ता युरोपेली मुलुकमा नेपालीहरु जाने गरेका छन् ।

श्रम स्वीकृति लिएर प्रत्येक महिना कम्तीमा पनि ६० हजारभन्दा बढी युवा वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकमा पुग्ने गरेको निर्देशक सुवेदीले जानकारी दिनुभयो ।

 

तपाईको प्रतिक्रिया