पाँचथर, १८ असार २०८० । असार २ गते आएको अविरल वर्षा र बाढीका कारण पाँचथरमा २ करोड ५० लाख वढिको कृषि बालीमा क्षति भएको छ ।
जिल्लाको फिदिम नगरपालिका,याङवरक,हिलिहाङ र फालेलुङ गाउँपालिकामा कृषकले लगाएको धान, मकै, आलु, उखु, किवी, अम्रिसो, लोकता, अलैँची लगायतको कृषि बालीमा २ करोड ५८ लाख ३४ हजार ३ सय रुपैयाँको क्षति भएको कृषि ज्ञान पाँचथरका प्रमुख शालिकराम भट्टराईले जानकारी दिनुभयो ।
कार्यालयले लिएको प्रारम्भिक क्षतिको विवरण अनुसार जसअन्तर्गत फिदिम नगरपालिकाको वडा न. ४, ५, १० र ११ न. वडाका ६२ घरधुरीका कृषकले ३ सय ६० रोपनी क्षेत्रफलमा लगाएको धान, मकै, ग्यामरा उखु बालीमा क्षति हुँदा २६ लाख ११ हजार ४ सय ४२ रुपैयाँको कृषि बालीमा क्षति भएको हो ।
यस्तै, याङवरक गाउँपालिकाको वडा न. १ र २ मा ११ सय रोपनी खेतमा बाढी र पहिरोले क्षति पुर्याउँदा कृषकले लगाएको अलैँची र धान बालीमा गरी १ करोड ४८ लाख २९ हजार ९ सय रुपैयाँको क्षति भएको छ ।
त्यसैगरी हिलिहाङ गाउँपालिका वडा न.६ र ७ मा ७ सय रोपनी क्षेत्रफलमा कृषकले लगाएको धान र मकै बालीमा क्षति हुँदा ३० लाख ५९ हजार ८ सय ८० रुपैयाँको क्षति भएको हो ।
साथै फालेलुङ गाउँपालिका वडा न. ३,४,५ र ७ न वडामा कृषकले लगाएको धान, मकै, किवी, अम्रिसो, लोकता, अलैँची, आलु बालीमा क्षति हुँदा ५१ लाख ५३ हजार ७८ रुपैयाँ क्षति भएको छ ।