शान्ति सुब्बा
गौरादह, १२ असार २०८० । झापाको कमलमा प्रथम महोत्सव पुरानो तोपगाछी केर्खा-२०८० व्यापार तथा फुड फेस्टिभल सुरु हुने भएको छ । कमलगाउँपालिका वडा नं.३ को केर्खा खेलकुद मैदानमा भोलि देखि महोत्सव सुरु हुने भएको हो । केर्खा स्टार क्लबले आयोजना गरेको महोत्सवको बारेमा सोमबार पत्रकार सम्मेलन मार्फत भोली देखि करिब १ महिना महोत्सव लगाइने क्लबका सचिव तथा महोत्सव मूल आयोजक समितिका संयोजक दुर्गा प्रसाद कोइरालाले जानकारी दिनुभयो ।
सामाजिक कार्यको लागि महोत्सवको आयोजना गरिएको बताउँदै त्यसबाट उठेको रकमले लागू औषध र्दुव्यसनीमा लागेका युवा युवतीहरुका लागि सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरिने कोइरालाले जानकारी दिनुभयो । महोत्सवमा विभिन्न जात जातिका खानाका परिकारहरु, व्यापारिक सामग्रीहरु लगायतका स्टलहरु समेत राखिने भएको छ । यस्तै, महोत्सवमा घुम्न आउनेहरुका लागि रोटेपिङ, रेल, नाउ लगायतका विभिन्न खेल सामग्रीहरु राखिने भएको छ । यस्तैगरि, महोत्सवमा प्रकाश सपुत, प्रमोद खरेल, कमल खत्री, लाहुरे, मेलिना राई, अस्मिता कार्की, एलिना चौहान, रचना रिमाल, जिबब लगायतका चर्चित गायक गायिकाहरु लगायतको प्रस्तुति रहने जनाइएको छ । महोत्सवमा प्रवेश शुल्क १०० राखिने भएको छ भने, गायक गायिकाहरु अनुसार टिकटको दर पनि बढ्न सक्ने बताइएको छ । सौहार्दपूर्ण वातावरणमा महोत्सव सञ्चालन गरिने जानकारी दिनुहुँदै सबै तर्फबाट साथ सहयोग मिलोस भन्ने अपेक्षा पनि राखिएको कोइरालाले बताउनुभयो ।
सम्पूर्ण तयारी पुरा भइसकेको बताउँदै भोलि साँझ ६ बजे महोत्सवको उद्घाटन गरिने जनाइएको छ । महोत्सवको उद्घाटन कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले गर्नुहुने बताइएको छ । महोत्सवमा पालिका उपाध्यक्ष प्रमिला तिवारी, वडा नं.३ का वडाध्यक्ष, केर्खा प्रहरी चौकीका ईञ्चार्ज लगायतका टिमहरुको आतिथ्यता रहने जनाइएको छ ।
नोटः महोत्सवमा स्टल बुकिङ्गका लागि सुमन धिमाल ९८२३४५७६७८ र पवन ९८११०१२८२३ मा सम्पर्क गर्न सकिनेछ ।