Online Bichar
बिहिबार, चैत्र १५, २०८० | Thursday, March 28, 2024

विराटनगर, १५ जेठ २०८० । संघ सरकारले आर्थिक वर्ष २०८०/०८१ को बजेट वक्तव्यमा कोशी प्रदेशमा खासै ठूला कार्यक्रम पारेको छैन । संघीय सरकारका अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले ल्याएको १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेटमा कोशी प्रदेशमा केही जलविद्युत् र पर्यटनको क्षेत्र उल्लेख छन् । यद्यपि प्रदेशका लागि गर्व गर्न लायक आयोजनाहरु बजेटमा समेटिएनन् ।

सरकारले ल्याएको बजेटमा मोरङको रंगेलीमा कृषि थोक बजार निर्माण गर्ने, धरानमा विषादी अवशेष द्रुत परीक्षण प्रयोगशाला निर्माण गर्ने उल्लेख छ । यस्तै कोशी जलाधार क्षेत्रमा सिमसार संरक्षण, पोखरी संरक्षण गरिने, इलाममा वायु गुणस्तर मापन केन्द्र स्थापना गरिने, विराटनगरको एकीकृत जाँच चौकी (आइसीपी) मा गोदाम घर निर्माण गर्ने विषय समेटिएको छ ।

ताप्लेजुङदेखि दार्जुलासम्म जोड्ने ग्रेड हिमालय ट्रेल निर्माण गर्ने, लारुम्बा मुन्धुम ट्रेल, हलेंसी तुवाचुङ खुवालुङ समेटेर किरात सांस्कृतिक सर्किट निर्माण गर्ने, हलेंसी–तुवाचुङ क्षेत्र खुल्ला सांस्कृतिक संग्रहालय बनाउने र हिमाली गुम्बा संरक्षण कार्यक्रम राखिएको छ । जसबाट कोशी प्रदेशले लाभ लिन सक्छ ।

यस्तै पर्यटनको सम्भावना उच्च भएको कोशी पाथीभरा, हलेंसी, किराँतको उद्गम क्षेत्र तुवाचुङ, चतरा–बराहक्षेत्रलाई विकास र सौन्दर्यकरण गरिने, विराटनगर विमानस्थलको स्तरोन्नति गरी क्षेत्रीयस्तरको बनाइने पनि बजेट वक्तव्यमा उल्लेख छ ।

धनकुटामा नमुना आवासीय सामुदायिक विद्यालय स्थापना गरिने, धरानमा एकीकृत खानेपानी तथा ढल व्यवस्थापन आयोजना सुरु गरिने, सुनसरीको झुम्का र भोजपुर बजार, संखुवासभाको चैनपुर, मोरङको टंकी सिनुवारी खानेपानी आयोजना सम्पन्न गर्ने विषय बजेटमा उल्लेख छ ।

यस्तै झापा दमकको ढल निर्माण तथा प्रशोधन आयोजना सम्पन्न गर्ने, विराटनगरको गिरिजाप्रसाद क्रिकेट स्टेडियम निर्माणकार्य अगाडि बढाउने, सुनसरीको इटहरी कभर्डहल निर्माण गर्ने विषय पनि बजेटमा उल्लेख छन् ।

काँकरभिट्टा–लौकही सडकखण्डको स्तरोन्नति सुरु गरिने, मध्यपहाडी राजमार्गअन्तर्गत पाँचथर खण्डको सडक निर्माण गरिने, मदन भण्डारी सडक अन्तर्गत इलाम–सुनसरी खण्डको सडक निर्माण गरिने बजेट वक्तव्यमा उल्लेख छ । कोशी करिडोरको लागि ८० करोड बजेट छुट्याइएको छ भने तमोर करिडोर निर्माणका लागि बजेट विनियोजन गरेको उल्लेख छ ।

यस्तै कटारी–घुर्मी सडक निर्माण गर्ने, तमोर करिडोर, ओलाङ्चुङ गोलासम्म सडक निर्माणको लागि बजेट विनियोजन गरिएको छ भने रानी–विराटनगर–धरान सडक पुनःनिर्माणको कामका लागि बजेट विनियोजन गरिएको उल्लेख छ ।

सिँचाइको क्षेत्रमा सुनसरी मोरङ सिँचाइ आयोजनालाई पूर्ण क्षमतामा सञ्चालन गर्ने तथा कोशी, त्रियुगा, सुनसरी, कन्काई, रतुवा, मावा खोला नियन्त्रणका लागि रकम विनियोजन गरिएको मन्त्री महतले बताए ।

जलविद्युत्को क्षेत्रमा कोशी प्रदेशकै तल्लो अरुण जलविद्युत् आयोजना सम्झौता गरी निर्माण कार्य अगाडि बढाउने, माथिल्लो अरुण जलविद्युत् आयोजना संघ, प्रदेश र स्थानीय तहको संयुक्त लगानीमा निर्माण गरिने बजेटमा उल्लेख छ ।

४ सय केभी इनरुवा, पूर्णया अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्ने र अरुण करिडोर प्रसारण लाइनको निर्माण कार्य गरिने पनि बजेटमा उल्लेख छ भने धरानमा डाटा सेन्टर निर्माणका लागि सम्भाव्यता अध्ययन गरिने बजेट वक्तव्यमा उल्लेख गरिएको छ ।

 

तपाईको प्रतिक्रिया