शान्ति सुब्बा
गौरादह, १७ वैशाख २०८० । झापाको गौरादहमा महिलाहरुको पाठेघरको मुखको क्यान्सर परिक्षण सम्बन्धि स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
गौरादह जेसीज, जीवन बिकास लघुवित्त वित्तिय संस्था शाखा गौरादह र थ्री जीरो क्लब गौरादहको संयुक्त आयोजनामा महिलाहरुको पाठेघरको मुखको क्यान्सर परिक्षण सम्बन्धि १ दिने स्वास्थ्य शिविर सम्पन्न भएको हो । शनिबार गौरादह नगरपालिका वडा नं.१ को जनता माध्यमिक विद्यालयको प्राङ्गणमा सम्पन्न शिविरमा १ सय ९७ जनाले स्वास्थ्य लाभ लिएका थिए।
शिविरमा महिलाहरुमा पाठेघरको मुखको क्यान्सर छ वा छैन भनेर थाहा पाउनका लागि प्याप टेस्ट(पाठेघरको मुखको पानिको तत्व) निकालेर परिक्षण गरिएको थियो । वि.पि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपाको प्राविधिक सहयोगमा सम्पन्न शिविरमा वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. सन्तोष कुमार झा र डा. वर्षा कार्की सहित नर्सहरु को समूहले स्वास्थ्य परिक्षण गरेका थिए । विवाहित महिलाहरुमा देखा पर्ने विशेष गरि पाठेघरको मुखको क्यान्सरको समस्याको बारेमा समयमै पहिचान गर्ने उद्देश्यले शिविर संचालन गरिएको गौरादह जेसीज वर्ष २०२३ का अध्यक्ष प्रकाश भट्टराईले जानकारी दिनुभयो ।
प्रमुख अतिथि गौरादह नगरपालिका वडा नं.१ का वडा अध्यक्ष तथा नगर प्रवक्ता नगेन्द्र भण्डारीले शिविरको उद्घाटन गर्नुभएको थियो । गौरादह जेसीज वर्ष २०२२ कि अध्यक्ष जेसी बिनिता कटुवाल, जीवन बिकास लघुवित्त सस्थाका गौरादह शाखा प्रमुख जुनिकुमारी राजवंशी, थ्रि जेरो क्लबका संयोजक धुर्वचन्द्र अधिकारी, वर्ष २०२० का अध्यक्ष जेसी ताराकुमार श्रेष्ठ लगायत गौरादह जेसीजका कार्यसमितिका सदस्यहरुको सहभागिता रहेको थियो । शिविरलाई संचालन गर्न विशेष सहयोग गर्ने गौरादह जेसीजका सस्थापक अध्यक्ष जेसी विजय सिटौला सहित सहजीकरण गर्नुहुने सबैलाई गौरादह जेसीजको तर्फबाट सम्मान पत्र प्रदान गरिएको थियो । कार्यक्रमको संयोजक जेसी सिर्जना शर्मा रहनु भएको थियो भने, जेसीज आस्था वाचन सचिव जेसी दुर्लभ कार्कीले गर्नुभएको थियो । कार्यक्रम संचालन गौरादह जेसीज वर्ष २०२३ का महासचिव जेसि भानु आचार्यले गर्नुभएको थियो ।