Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

गौरादह, २ पुस २०७९ । झापाको दमक र गौरीगंजमा सुरक्षित खानेपानीका लागि वितरण गरिएको बायोस्याण्ड फिल्टर मापदण्डहीन र गुणस्तरहीन रहेको बताइएको छ । भरतपुर-१० चितवनमा केन्द्रिय कार्यालय रहेको बायोस्याण्ड फिल्टर उद्यमी संगठन नेपाल(विफेन)ले शनिबार(आज)पत्रकार सम्मेलन मार्फत सो कुराको जानकारी गराएको हो ।

न्यू उदयपुर बायोस्याण्ड फिल्टर उद्योग रतुवामाई १० का उद्यमी सन्तोस कुमार रेग्मीले दमक नगरपालिकाको वडा नं. २, १० र गौरीगन्ज गाउँपालिकाको वडा नं. २,३ मा बिक्री वितरण गरेको बायोस्याण्ड फिल्टर मापदण्डहीन र गुणस्तर नभएको केन्द्रिय समितिका अध्यक्ष ईश्वर प्रसाद दाहालले आरोप लगाउनुभएको छ । अध्यक्ष दाहालका अनुसार उद्यमी रेग्मीले दमक-२ मा अघिल्लो आर्थिक वर्षमा ९२ र यस वर्ष ७७ वटा र वडा नं. १० मा यस वर्ष ७० र अघिल्लो आर्थिक वर्षमा ५५ वटा बायोस्याण्ड फिल्टर वितरण गरेको जानकारी दिनुभयो ।

यस्तै, गौरीगंजमा यस वर्ष १४ घर धुरीमा वितरण भएका बायोस्याण्ड फिल्टर पनि मापदण्डहीन र गुणस्तरहीन रहेको बताउनुभयो । दमक र गौरीगंजका वडामा वितरण गरिएका बायोस्याण्ड फिल्टरहरुको उपभोक्ता स्थलमा अनुगमन गर्दा फिल्टरमा समस्या नै समस्या भएको पाइएकोले रेग्मीलाई फिल्टर सच्याउन आग्रह गर्दा कुरा आलटाल गरेकोले रतुवामाई नगरपालिका न्यायीक समितिमा निवेदन दर्ता गर्दा अधिकार क्षेत्र नभएको भन्दै निवेदन फिर्ता भएको पत्रकार सम्मेलनमा वितरण गरिएको प्रेस विज्ञप्तीमा खुलाइएको छ ।

उद्यमी रेग्मीले दमक नगरपालिका-२ र १० का आर्थिक विपन्न तथा दलित परिवारलाई वितरण गरेको फिल्टरको पूनः अनुगमन गर्दा बायोस्याण्ड फिल्टरमा प्रयोग भएको मेडियाको गुणस्तर नरहेको, पानी र बालुवाको सतह नमिलेको, स्टेन्ड नदिएको, फिल्टर चुहिएको चर्किएको, फिल्टर प्रयोग सम्बन्धि ज्ञान उपभोक्तालाई नदिएकोरनभएको, फिल्टरमा उद्योगको पहिचानको छाप नभएको लगायतका समस्या देखिएकोले उक्त फिल्टर गुणस्तरहीन रहेको विज्ञप्तीमा उल्लेख गरिएको छ । गुणस्तरहीन फिल्टर वितरण गर्ने दमक र गौरीगंजको सम्बन्धित वडामा यस विषयमा २ पटक जानकारी गराउँदा कुनै पनि सुनुवाई नभई जनताको स्वास्थ्य माथि खेलवाड गर्दै पूनः आर्थिक वर्ष २०७९/०८० को कार्यक्रममा गुणस्तरहीन फिल्टर वितरण गरेको संगठनका अध्यक्ष दाहालले जानकारी गराउनुभयो ।

यस्तै, न्यू उदयपुर बायोस्याण्ड फिल्टर उद्योग रतुवामाई-१० लाई विफेनको सदस्यताबाट बर्खास्त गरिएको, गुणस्तरहीन फिल्टर उत्पादन तथा बिक्रि वितरण गरेको भन्दै उद्यमी रेग्मीलाई उद्योग बन्द गर्न घरेलु तथा साना उद्योगको कार्यालय मोरङमा निवेदन दिने, दमक नगरपालिका-२ र १० वडाले गुणस्तरहीन बायोस्याण्ड फिल्टर खरिद गरेर राज्यको सम्पत्ति दुरुपयोग गरेको र जनस्वास्थ्य माथि खेलवाड गरेको भन्दै अख्तियार कार्यालयमा निवेदन दिने संगठनको प्रेस विज्ञप्तीमा भनिएको छ ।

बायोस्याण्ड फिल्टर उद्यमीहरुलाई गुणस्तर र एकरुपताको फिल्टर उत्पादन र वितरणमा सचेत गराउन, सरकारी तथा गैर सरकारी संस्थाहरुलाई बायोस्याण्ड फिल्टर गुणस्तर र एकरुपताको लागि पहिचान गरी विपन्न परिवारलाई फिल्टर उपलब्ध गराउन, बायोस्याण्ड फिल्टर उद्यमीहरुको मिलेमतोमा नितिगत भ्रष्टाचारलाई रोक लगाउन पनि पत्रकार सम्मेलनको आयोजना गरिएको अध्यक्ष दाहालले बताउनुभयो ।

२०६६ साल देखि नेपालमा ले वातावरण तथा जनस्वास्थ्य(एन्फो)सँग समन्वयन तथा सहकार्यमा तराइ क्षेत्रका २२ वटा जिल्लामा सुरक्षित खानेपानीको पहँुच पुर्याउन बायोस्याण्ड फिल्टर उद्यमीहरुको सृजना गरि प्रविधि हस्तान्तरण र सिकाई आदान प्रदान कार्यक्रम सञ्चालन गर्दै नेपालको हावापानीमा बायोस्याण्ड फिल्टर निर्माण सामग्रीहरुको पहिचान गराई स्थानीय स्तरमा पाइने सामग्रीहरु सिमेन्ट गिटी र बालुवा बाट बायोस्याण्ड फिल्टरको उत्पादन गर्न सक्ने जनशक्तिवाई बायोस्याण्ड फिल्टर उद्यमी संगठन नेपाल विफेन संस्था स्थापनी गरी संस्था दर्ता गराई केन्द्रिय कार्यालय भरतपुर१० चितवन मा राखी उद्यमी तथा उपभोक्ताहरुको हितलाई ध्यानमा राख्दै प्रदेश नं.५ र प्रदेश नं. १ मा शाखा कार्यालय रहेको जनाइएको छ । संगठनले बायोस्याण्ड फिल्टर प्रयोगकर्ता सहयोगी पुस्तिका समेत वितरण गरेको थियो ।

पत्रकार सम्मेलनमा संगठनका विफेन केन्द्रिय समितिका सदस्य कमल बास्कोटा, प्रदेश नं.१ शाखा शाखा कार्यालयका अध्यक्ष तथा केन्द्रिय सदस्य दिपक भण्डारी,शाखा सदस्य युवराज सिग्देल, व्यवस्थापक कृष्णबहादुर भुजेल लगायतको उपस्थिति रहेको थियो ।

 

तपाईको प्रतिक्रिया