Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

सबिन खतिवडा

गौरादह, २७ जेठ । जन्मदिन भन्नेबित्तिकै अहिले धेरैले ‘केक’ काट्ने र पार्टी गर्ने भन्ने सम्झन्छन् । तर झापाको जनता माध्यमिक विद्यालय गौरादह–१ का ब्यवस्थापन समिति अध्यक्ष इन्द्र गौतमले बुधबार फरक शैलीमा आफ्नो जन्मदिन मनाउनु भएको छ ।

जन्मदिनको अवसरमा अध्यक्ष गौतमले विद्यालयका कक्षा १ देखि ५ सम्मका गरिब तथा जेहेन्दार विद्यार्थीहरु १० जनालाई अंग्रेजी माध्यमका पाठ्यपुस्तक निशुल्क वितरण गर्ने घोषणा गर्नुभएको हो ।

त्यसैगरी अध्यक्षको आफ्नो नीजि खर्चमा पाडाजुगी–गौरादह सडक खण्ड अन्तर्गत जनता माध्यमिक विद्यालय प्रवेश मार्गमा विद्यार्थीलाई आवतजावतमा सहजताका लागि जेब्राक्रसिङ बनाइएको छ ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

जन्मदिनको अवसरमा नै वहाँले जेब्राक्रसिङ संगै प्रबेश मार्गमा विद्यालयको नाम सहितको साइनबोर्ड समेत आफ्नै खर्चमा स्थापना गर्नुभएको छ ।

समाजसेवी तथा नेपाली काँग्रेसका युवा नेता समेत रहेका अध्यक्ष गौतमले भन्नुभयो, “मेरो खुशी नै समाज सेवा हो, त्यसकारण फजुल खर्चगरेर जन्मदिन मनाउनु भन्दा समाजमा केही रचनात्मक काम गरेर जन्मदिन मनाउनु उपयुक्त हुन्छ भनेर बिपन्न बालबालिकालाई पाठ्यपुस्तक उपलब्ध गराउने घोषण सहित, विद्यालयको बोर्ड र जेब्राक्रसिङ बनाएर जन्मदिन मनाएको हुँ ।”

ट्राफिक प्रहरी कार्यलय गौरादहसंग समन्वय गरी कार्यलय इन्चार्ज लक्ष्मी ओझा र ट्राफिक प्रहरी भोजराज चम्लागाईंको प्रत्यक्ष प्राबिधिक सहयोगमा सो जेब्राक्रसिङ बनाइएको अध्यक्ष गौतमले बताउनु भयो । जेब्राक्रसिङ निर्माण तथा बोर्ड स्थापना कार्यक्रममा गौरादह जेसिजका अध्यक्ष एकराज घिमिरे, समाजसेवी ओम निरौला, नगेन्द्र घिमिरे, विद्यालयका शिक्षक तथा कर्मचारीहरु लगाएत स्थानीयहरुको समेत उपस्थिति रहेको प्रधानाध्यापक हरिप्रसाद अधिकारीले बताउनु भयो ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

विद्यालयका अध्यक्षले आफ्नो जन्मदिन समाजसेवा, मानवीय धर्म तथा संवेदनासँग जोडेर मनाउनुभएको र यो हामी सबैकालागि अनुकरणीय शिक्षा भएको प्रधानाध्यापक अधिकारीले बताउनु भयो ।

तपाईको प्रतिक्रिया