शान्ति सुब्बा
गौरादह, २४ चैत २०७७ । झापाको गौरादह नगरपालिकाको १ नं.वार्डले महिलाहरुलाई आत्मनिर्भर बनाउन सिलाई बुनाई, मखमली ढाकाका जुत्ता चप्पल र ब्याग झोला बनाउने तालिम सञ्चालन गर्न लागेको छ । तालिम भोलिबाट शुरु हुन लागेको हो ।
वडा नं. १ ले आयोजना गरेको तालिम उद्घाटन कार्यक्रमको प्रमुख अतिथि तथा गौरादह नगरपालिका कि उपप्रमुख गिता भेटवालले कार्यक्रमको उद्घाटन गर्दै महिलाहरुलाई सक्षम बनाउन, उनिहरुको क्षमता विकास र स्वरोजगार बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको बताउनुभयो । उक्त तालिमबाट ५० जना प्रशिक्षार्थीले लाभ लिने उपप्रमुख भेट्वालले जानकारी दिनुभयो । उनिहरुलाई ३ जना प्रशिक्षकले प्रशिक्षण दिने जनाइएको छ ।
गौरादह-१ को सितल चोकमा रहेको उद्यमी कृषि सहकारी संस्थाको कार्यालयमा तालिम सञ्चालन गरिने कार्यपालिका सदस्य देवीमाया श्रेष्ठले जानकारी दिनुभयो । प्रायजसो बजार क्षेत्रका महिलाहरु लक्षितका कार्यक्रमहरु गर्दै आइरहेकोले यस पटक माथिल्लो क्षेत्रका महिलाहरुलाई प्राथमिकता दिइएको कार्यपालिका सदस्य श्रेष्ठले बताउनुभयो ।
त्यसका लागि वडा नं.१ ले १ लाख ५ हजार वजेट रकम विनियोजन गरि महिलाहरुलाई उद्यमी बनाउने अभिप्रायले तालिमको आयोजना गरिएको उपप्रमुख भेटवालले बताउनुभयो । तालिममा ६० दिने सिलाई बुनाई, १५ दिने मखमली ढाकाका जुत्ता चप्पल र १५ दिने ब्याग झोला बनाउन सिकाइने बताईएको छ । जसमा २० जनाले सिलाई बुनाई, १५ जनाले जुत्ता चप्पल र १५ जनाले ब्याग झोला बनाउन सिक्नका लागि तालिममा सहभागिता जनाउने भएका छन् ।
त्यस अवसरमा वडा नं. १ का वडाध्यक्ष नगेन्द्र भण्डारी, महिला सञ्जाल कि अध्यक्ष लिला कार्की कट्टेल, कार्यपालिका सदस्य देविमाया श्रेष्ठ, अम्बिका भण्डारी, गंगा विक र प्रशिक्षार्थी लगायतले सहभागिता जनाएका थिए ।








