झगेन्द्र खड्का
गौरादह, १ फागुन । नेपाल शिक्षक संघ नगर समिति गौरादहको तेस्रो प्रतिनिधि सभा सम्पन्न भएको छ। प्रगति माध्यमिक बिद्यालय जुरोपानीको सभाहलमा भएको कार्यक्रममा ६ जना सेवा निवृत्त शिक्षकलाई सम्मान समेत गरिएको छ।
शिक्षण पेशामा रहि सेवा गरेर सेवा निवृत्त भएका नेपाल शिक्षक संघमा आवद्ध ६ जना शिक्षकलाई दोसल्ला ओढाई सम्मानपत्रका साथ सम्मान गरेको हो। यसरी सम्मानित हुनेहरुमा अमर मा.बि. बैगुनधुराका गोपाल प्रसाद पोख्रेल,स्कुलचौन मा.बि.का तुलशि भट्टराई, अमर मा.बि. गौरादहका भिम माया उप्रेती (खवास), भद्रकाली मा.बि. का हरी प्रसाद पाठक, अरुणोदय प्रा. बि. का नर बहादुर कार्की, बैराती प्रा.बि. का पहाड सिंह राजवंशी रहेका छन्।
गौरादह नगरपालिकाका मेयर तथा कार्यक्रमका प्रमुख अतिथि रोहित कुमार शाहले शिक्षक संघको तेस्रो प्रतिनिधि सभाको उदघाटन गरेका थिए। उद्वघाटन गर्दै प्रमुख अतिथि शाहले नगरपालिका भित्र रहेका सामुदायिक विद्यालयहरु प्रति आकर्षण बढाउदै शैक्षिक सुधारका कार्यक्रमहरु ल्याउन स्थानीय सरकार तयार रहेको बताए।
संघीय शिक्षा नियमावली तथा प्रदेश शिक्षा ऐन नियामवाली आउन नसकेकाले स्थानीय शिक्षा ऐन अन्योलमा परेको धारणा राख्दै न्यून पारिश्रमिकमा काम गरिरहेका बाल शिक्षक र कर्मचारीहरुको सेवा सुबिधा पुनरविचार गर्ने बारेमा स्थानीय सरकार सकरात्मक रहेको बताए।
नेपाल शिक्षक महासंघ नगर समिति गौरादहले स्थानीय सरकारको ध्यानाकर्षण गराएको जानकारी गराउदै शिक्षा सँग सम्बद्ध निकाय, स्थानीय सरकारका प्रतिनिधि, सामाजिक विकास समितिहरु बीच छलफल गरेर निकास निकाल्ने बताएका छन्।
शिक्षक संघको तेस्रो प्रतिनिधि सभामा बोल्ने अधिकांश बक्ताले शैक्षिक गुणस्तर सुधारकालागि स्थानीय सरकारले शिक्षा क्षेत्रमा बजेट बृद्वी गर्नु पर्ने धारणा राखेका थिए। शिक्षामा बजेट बृद्धी गर्नु पर्नेमा भएको बजेट समेत कटौती गर्नु बिडम्बना भएको बताएका थिए। यसरी मन्तब्य राख्ने हरुमा नेपाल शिक्षक सं झापा जिल्ला अध्यक्ष नेत्र खरेल, शिक्षक मैत्री बचत तथा ऋण सहकारी संस्था झापा अध्यक्ष प्रकाश भण्डारी,शिक्षक संघका केन्द्रीय प्रतिनिधि गोपाल चन्द्र भुजेल, नेपाल राष्ट्रिय शिक्षक संगठन गौरादह अध्यक्ष लिला नाथ गौतम लगायत रहेका थिए।
त्यस अवसरमा नेपाल शिक्षक संघ नगर समिति गौरादह अध्यक्ष तथा कार्यक्रमका सभापति रत्न बहादुर कटुवालले संस्थाको सांगठनिक प्रतिबेदन प्रस्तुत गरेका थएभने संघका अर्थ सचिब युवराज रेग्मीले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए।संघका कोषाध्यक्ष दुर्गा घिमिरेले स्वागत मन्तब्य राखेको कार्यक्रममा सचिव मेघराज अधिकारीले कार्यक्रम संचालन गरेका थिए






