Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

टोकियो, १७ मंसिर २०७७ । जापानमा बस्ने सबैलाई सरकारले कोरोनाभाइरसविरुद्धको खोप निःशुल्क लगाइदिने भएको छ ।

दैनिकरुपमा कोरोनाभाइरसबाट संक्रमितहरु भेटिइरहेका बेला जापानको संसदले बुधबार एउटा कानुन नै पारित गरेर सबैलाई निःशुल्क खोप दिने व्यवस्था गरेको हो ।

नयाँ कानुनअनुसार १२ करोड ६० लाख मानिसलाई कोरोनाविरुद्धको खोप लगाउनका लागि दुवै सदनबाट बजेटसमेत पारित गरिएको छ ।

सरकारले छ करोड मानिसका लागि औषधि उत्पादक संस्था फाइजरबाट खोप ल्याउने सुनिश्चित गरिसकेको छ भने बाँकी दुई करोड ५० लाख मानिसका लागि अमेरिकी बायोटेक फर्म मोडर्नासँग सम्झौता गरेको छ ।

त्यसैगरी, १२ करोड मानिसलाई पुग्नेगरी अस्ट्राजेनिकाको खोप ल्याउने तयारी भएको अधिकारीहरुले जनाएका छन् ।

फाइजर र मोडर्नाले कोरोनाविरुद्धको खोप आपत्कालीन प्रयोगका लागि अमेरिका र युरोपमा यसअघि नै अनुमति मागेका छन् । चिकित्सकीय परीक्षणबाट दुवैको खोप प्रभावकारी पुष्टि भइसकेको छ ।

जापानका प्रधानमन्त्रीले कोरोनाभाइरसको महामारी नियन्त्रणका लागि सरकार अत्यधिक संवेदनशील रहेको बताएको दुई हप्तापछि संसदबाट यस्तो कानुन पारित भएको हो ।

तुलनात्मकरुपमा जापानमा कोरोनाभाइरसको महामारी कम देखिएको छ । जापानमा कोरोनाका कारण अहिलेसम्म दुई हजार १०० जनाको मृत्यु भएको छ भने एक लाख ५० हजार संक्रमित भएका छन् ।

त्यसैगरी, जापानमा अहिले कहीँपनि अतिकडा ‘लकडाउन’ लागू गरेको देखिएको छैन । तर पनि महामारी अहिले तेस्रोपटक फैलिएको हो । संक्रमितहरु भेटिनेक्रम चलिरहेको छ ।रासस/एएफपी

तपाईको प्रतिक्रिया