Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

झगेन्द्र खड्का
गौरादह, २८ असोज । गौरादह नगरपालिकामा ब्यवस्थित खेलमैदान नहुँदा खेलक्षेत्रका प्रतिभाहरु मारमा परेका छन् । स्थानीय सरकारले व्यवस्थित खेलमैदान बनाउन तर्फ ध्यान नदिएको स्थानीय खेलाडी तथा खेलप्रेमीहरुको गुनासो समेत रहेको छ ।

गौरादह नगरपालिका भित्र विद्यालयका खेलमैदान बाहेक हालसम्म एउटा पनि स्तरीय खेलमैदान अथवा रंगशाला निर्माण हुन सकेको छैन ।

नगर भित्र रहेका खेलाडीहरु आफ्नो चाहना अनुसारको खेल खेल्न आवश्यक सामग्री लिएर मैदान खोज्दै हिड्ने गरेका छन्। नगर भित्रका युवा युवतीहरु फुटबल,भलिबल,क्रिकेट र ब्याडमिन्टन लगायतका खेल खेल्ने गर्दछन ।
खेलाडीहरु खेल खेल्न इच्छुक भएपनि नगरपालिकाले नगरभित्र स्तरिय खेल मैदानको व्यवस्था गर्न सकेको छैन।

नगरपालिकाले नगर भित्र रहेका युवाहरुलाई खेलको बिकाश गर्न नगर खेलकुद बिकाश समिति तथा वडा खेलकुद विकास समिति गठन गरेको छ। खेल खेल्नका लागि आवश्यक बजेट पनि नगरपालिकाले बिनियोजन गर्ने गरेको छ।
खेलाडीहरुका लागि खेल खेल्न आवश्यक पर्ने आधारभुत आवश्यकता खेलमैदान हो। खेलमैदानको अभावमा खेलको विकास सम्भव छैन।

खेलाडीहरुका लागि खेल खेल्न र खेलको विकसका लागि स्तरिय खेलमैदानको व्यवस्था गर्नु स्थानीय सरकारको दायित्व हो। गौरादह नगरपालिका स्थानीय सरकारले खेलमैदानको व्यवस्थापन गर्न पछि परिरहेको छ ।

युवाहरूलाई खेलक्षेत्रमा सहभागी गराउन नगरका वडैपिछे क्लब रहेका छन्। क्लबहरुले विभिन्न प्रकारका खेलकुद प्रतियोगिता गराउन खोज्दा खेलमैदानकै समस्या हुने गरेको छ। क्लबहरुले खेल खेलाउदा खेलमैदानको अभाबमा सानो ठाउँमा खेल्न सकिने खेलहरु मात्र खेलाउने गरेका छन। खेलमैदान अभावका कारण खेलाडीले सिप तथा क्षमताको विकास गर्न सकेका छैनन् भने खेलाडीहरु नै पलायन हुने अवस्थामा पुगेको छन्।

नगर भित्रका खेल प्रेमी खेलाडी युवा युवतीहरु बिहान उज्यालो हुन साथ जर्सी लगाएर कक र ब्याड बोकेर ब्याडमिन्टन खेल्न निस्कन्छन्। ब्याडमिन्टन खेल्ने कबडहल नहुदा खेलाडीहरुले गौरादहको अतिथि सदन भवनमा कोर्ड बनाएर ब्याडमिन्टन खेलिरहेका छन्।

क्रिकेट खेल्न इच्छुक खेलाडीहरु मध्यान्ह तिर क्रिकेट बल, ब्याड र स्ट्याम लिएर चौउर तिर लाग्छन्। भलिबल र फुटबल खेलाडीहरु पनि दिउसो खेल सामग्री लिएर चैउर तिर लाग्छन् । खेलमैदानको अभावमा खेलाडीहरुलाई खेल खेल्न विद्यालयको चौउर खोज्दै हिड्नु परेको खेलाडीहरु बताउँछन्। खेलाडीहरुलाई खेल खेल्न विद्यालयको चौरमा जाँदा दिउसो पढाइ हुने भएकाले खेल खेल्न समस्या भएको खेलाडीको गुनासो छ।

विद्यालयका खेलमैदानमा पनि नयाँ भवनको संरचना निर्माण गरिदा मैदान साँघुरो भई खेलकुद क्षेत्र प्रभावित बनेको छ। हिउँदको समयमा खेतका गरामा खेलमैदान बनाएर खेल खेलेपनि जग्गा धनिले खेत जोतेर बाली लगाउदा खेल खेल्न समस्या भएको खेलाडीको भनाइ छ। खेल प्रति खेलाडीहरुको इच्छा शक्ति भएपनि खेलमैदानका लागि स्थानीय सरकारले चासो नदेखाउनु बिडम्बना भएको भलिबल खेलाडी केदार खड्का बताउँछन्।

युवाहरुलाई सकरात्मक सोचका साथ परिचालन गर्न र युवाहरुलाई मार्ग निर्देश गर्न खेलकुद आवश्यक रहेको पुर्ब फुटबल खेलाडी तथा जनप्रतिनिधि चन्द्र सुब्बा बताउँछन्। युवालाई खेलप्रति आकर्षण बढाउन र चाहना अनुसारको खेल खेल्न खेलमैदान अनिवार्य आवस्यक रहेको उनको भनाइ छ।

युवाहरुका लागि खेलमैदानको व्यवस्था गर्न स्थानीय सरकार सकरात्मक रेहेको गौरादह नगरपालिकाका मेयर रोहित कुमार शाह बताउँछन्। नगरपालिकालाई खेलमैदानका लागि गौरादह नगरपालिका वडा नं–२ को बर्लमभिट्टामा जग्गा उपलब्ध भएको जानकारी गराए।

नगर भित्र रहेका युवा शक्तिहरुबाट खेलको बिकाश गराई गौरादहलाई अन्य पालिकाहरुमा खेलको क्षेत्र बाट पनि परिचित गराउन नगरपालिका संबेदनसिल रहेको मेयर शाह बताउँछन्। बर्लमभिट्टामा स्तरिय खेलमैदानका लागि ४ बिघा जग्गा उपलब्ध भएकाले खेलमैदान निर्माणको प्रक्रियामा रहेकोे मेयर शाहले बताए।

तपाईको प्रतिक्रिया