Online Bichar
शनिबार, बैशाख २२, २०८१ | Saturday, May 4, 2024

गौरादह, ४ भदौ २०७७ । गौरादह नगरपालिका वडा नं १ गौमाता टोल विकास संस्था अन्तर्गत निलगिरीका टोलवासिहरुले तिहारमा देउसि खेलेर संकलन गरेको रकमलाई चौतारो निर्माणमा लगाएका छन् ।

पाडाजुगी गौरीगंज सडक खण्डको गौरादह डिपु चोकबाट करिब २ किलो मिटर उत्तर चौबाटो मोडमा चौतारो निर्माण गरिएको हो । यात्रु प्रतिक्षालय प्रयोजनको सो चौतारो निर्माणमा स्थानीयहरुको स्वतस्फूर्त सहभागिता रहेको तथा अन्य दाताहरुले समेत सहयोग गरेका हुन् ।

निलगिरि टोलबासिहरुले तिहारमा देउसी खेलेर संकलन गरेको २३ हजार ५ सय र समाजका दाता महानुभावहरुबाट संकलित रकम ३५ हजार १ सय ३५ सहित जम्मा ५८ हजार ६ सय ३५ बाट चौतारो निर्माण भएको निर्माण समितिका अध्यक्ष दुर्गा प्रसाद आचार्यले जानकारी गराए।

तिहारमा देउसी खेलेर र दाता महानुभावहरुबाट संकलित रकमबाट फलामको ट्रष्टबाट निर्माण गरिएको सो चौतारोमा टिनको छानो लगाई जमिनको भागमा टाएल बिछेयाइको छ ।

निलगिरी टोलमा निर्माण गरिएको चौतारो आज बिहिबार औपचारिक कार्यक्रमका बीच गौरादह नगरपालिका मेयर रोहित कुमार शाह, उपमेयर गीता भेट्वाल र वडा नं १ का वडाध्यक्ष नगेन्द्र भण्डारीले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

चौतारो उद्घघाटन पछि मेयर शाहले पाडाजुगी गौरीगंज सडकमा गौरादह क्षेत्रमा मानिसहरुको चहलपहल बढी हुने ठाउँमा नगरपालिकाले सडकको चौंडा बिस्तार गरि दुर्घटनाको जोखिम न्युनिकरणमा सावधानि अपनाएको बताए । निलगिरी क्षेत्रका टोलबासिहरुले चौतारो निर्माण गरेर उदाहरणीय काम गरेको मेयर शाहले बताए।

कार्यक्रममा उपमेयर गीता भेट्वालले नगरको सर्वाङ्गिण बिकासमा स्थानीयहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्नु पर्ने धारणा राखिन् । कार्यक्रममा वडाध्यक्ष नगेन्द्र भण्डारीले समेत शुभकामना मन्तब्य मार्फत टोलबासिहरुको लगनशिलता र सक्रियताको चर्चा गर्दै धन्यवाद ज्ञापन गरेका थिए ।

गाडी चढ्न सडकमा आउने मानिसहरु र अन्य यात्रीहरुलाई आराम गर्ने चौतारो निलगिरी टोल आसपासमा आवस्यक भएकाले सबैको सहयोगमा चौतारा निर्माण गरिएको निर्माण समितिका अध्यक्ष आचार्यले बताए ।

कार्यक्रममा चौतारो निर्माणको आयब्यय समेत सार्बजनिक गर्दै चौतारो निर्माण कार्यमा सहयोग गर्ने महानुभावलाई प्रमाणपत्र बितरण गरिएको थियो। कार्यक्रम संचालन समितिका सचिव खड्ग बहादुर थापाले गरेका थिए ।

तपाईको प्रतिक्रिया