Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

भक्तपुर, १ जेठ २०७७ । सुनसरीबाट आएकी महिला र रामेछापबाट आएका पुरुष गरी २ जनामा कोभिड-१९ सङ्क्रमण देखिएपछि भक्तपुरमा घरबाट बाहिर निस्कन निषेध गरिएको छ ।

बैठकमा जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलालको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय भक्तपुरमा बुधवार प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको संयोजकत्वमा बसेको जिल्लास्तरीय विपद् व्यवस्थापन समितिको बैठकले सो निर्णय गरेको हो ।

प्रजिअ पाण्डेले जिल्लामा कोरोना सङ्क्रमण फैलिन नदिन लकडाउनलाई कडाइका साथ लागू गर्ने निर्णय गरेको जानकारी दिँदै अत्यावश्यक कामबाहेक घर बाहिर निस्कन नदिने गरी कडाइ गरेको जानकारी उनले दिइन् ।

जिल्लामा कोभिड-१९ को जोखिम र समुदायमा सङ्क्रमण बढ्न नदिन कोही पनि सर्वसाधारणलाई घरबाहिर निस्कन नपाउने बताउँदै प्रजिअ पाण्डेले भक्तपुरबाट अन्यत्र जान यसअघि जारी गरिएका सबै सवारी पास खारेज गरिएको बताएका छन् ।

अत्यावश्यक वस्तुबाहेक व्यापार, व्यवसाय, उद्योग कलकारखाना सञ्चालनमा रोक लगाउने निर्णय गरिएको छ भने भक्तपुर प्रवेश गर्ने र बाहिर जाने अत्यावश्यकबाहेकका व्यक्ति तथा सवारीसाधन निषेध गर्ने, स्थानीय र सरोकारवाला निकायबाट खाद्यान्न तथा आपूर्तिको व्यवस्थापन एवं नियमन गर्ने, विपन्न एवं गरिबसहित खाद्यान्न अभाव भएकालाई राहत उपलब्ध गराउने निर्णय गरेको छ ।

सङ्क्रमित व्यक्तिको यात्रा विवरणका आधारमा तत्काल कन्ट्रयाक्ट ट्रेसिङ गर्ने, उनीहरुको बासस्थान सिल गर्ने, उनीहरुका परिवारका सदस्यको तुरुन्त कोरोना परीक्षण र आवश्यक परे आइसोलेसनमा राखेर उपचार गर्ने निर्णय भएको छ ।

त्यस्तै जिल्लाका सबै नगरपालिकाले क्वारेन्टाइन चुस्तदुरुस्त राख्ने, वडामार्फत् आफ्नो क्षेत्रमा बाहिरबाट आएकाको लगत सङ्कलन गर्ने, निगरानी गर्ने, कोरोना परीक्षण गराउने र त्यस्ता व्यक्तिलाई आवश्यकताअनुसार क्वारेन्टाइनमा पठाउने र यसको समन्वय गर्ने निर्णय भएको छ ।

बैठकमा जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाल, वीरदल गण सूर्यविनायक व्यारेकका प्रमुख सेनानी शिवप्रसाद पौडेल, महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधान, भक्तपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। सुमित्रा गौतमलगायत ४ वटै नगरपालिकाका प्रमुखको उपस्थिति रहेको थियो । रासस

तपाईको प्रतिक्रिया