Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

धनकुटा, १५ बैशाख २०७७ । धनकुटाका एक दर्जनजति घरधनीले घरभाडा मिनाहाको घोषणा गरेका छन्।

लकडाउनका कारण व्यवसाय धराशायी बन्दै गएपछि राहत स्वरुप धनकुटा र हिलेबजारका घरधनीले स्वस्फूर्त रुपमा सटरभाडा मिनाहाको घोषणा गरेका हुन्। लकडाउनले मारमा परेका व्यवसायीलाई थोरै भए पनि राहत होस् भनेर भाडा छुट गर्ने निर्णय गरिएको धनकुटा उद्योग वाणिज्य संघका अध्यक्ष विजयसन्तोषी राईले बताए।

राईसहित जिल्लाका एक दर्जन घरधनीले लकडाउन अवधीभरको घरभाडा पूर्णरुपमा छुट दिने जनाएका छन्। ‘कोरोना भाइरस नियन्त्रणका लागि सरकारले गरेको लकडाउनको कारण व्यापार, व्यावसाय बन्द भई व्यावसायीलाई ठूलो आर्थिक संंकट परेकाले यस्तो निर्णय गरेका हौँ,’ राईले भने।

उनले धनकुटा नगरपालिका–५ धरहरा चौकमा अवस्थित घरमा किराना पसल र खाजा घरको भाडा मिनाहा दिने जनाएका छन्। त्यस्तै धनकुटा उद्योग वाणिज्य संघका उपाध्यक्ष खगेन्द्र विष्ट, हिले बजारका थामबहादुर लिम्बू, हेमकुमारी लिम्बू, जंग क्षेत्री, निरबहादुर गोम्देङ, धनकुटा नगरपालिका–६ का पूर्णकृष्ण श्रेष्ठ, युवराज निरौला लगायतले पनि लकडाउन अवधिभरको घरभाडा छुट दिने घोषणा गरेका छन्।

धनकुटा नगरपालिका(१ हिले घर भई हाल यूके बस्दै आएका थामबहादुर लिम्बु र हेम कुमारी लिम्बुले आफ्नो तीन वटा घरमा सञ्चालित डाँफे मुनाल ग्रील उद्योग, साथीभाई अफसेट प्रेस, खाजा घर लगायत चार जना व्यावायीलाई लकडाउन अवधीभरको घरभाडा पूर्णरुपमा मिनाहा गरिदिएको धनकुटा उद्योग वाणिज्य संघका सदस्य गणेश थापाले बताए।

लिम्बू दम्पत्तिले यस अघि २०६२र०६३ सालको जनआन्दोलनको समयमा व्यापार, व्यवसाय बन्द हुँदा घरभाडा छुट दिएका थि। उनको घरभाडा बापत मासिक एक लाख ५० हजार रकम संकलन हुने गरेको छ।

लकडाउनका कारण व्यवसाय चौपट भएको बेला घरधनीले घरभाडा मिनाहा गरेर आफुहरुलाई राहत मिलेको व्यवसायीले बताएका छन्।

‘लकडाउनका कारण महिनादिन देखि व्यवसाय बन्द छ। अब कसरी भाडा तिर्ने भन्ने चिन्ता थियो,’ न्यु डेनिसा टेलर्सका सञ्चालक देवेन्द्र दासले भने, ‘तर घरधनीले भाडा छुट दिने घोषणा गर्नुभयो। यसबाट हामीलाई ठूलो राहत महसुस भएको छ।’

यता धनकुटा नगरपालिका–५ मा किष्मत किराना पसल संचालन गर्दै आएकी ज्ञानीमाया मगरले पनि घरधनीले भाडा मिनाहा गरेर आफुहरुलाई राहत पुगेको बताईन्। नयाँपत्रीकाबाट

तपाईको प्रतिक्रिया