Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

काठमाडौ, ११ वैशाख । सरकारले उद्योग, निर्माण र सेवा क्षेत्र सञ्चालन क्रमशः खुकुलो बनाउने निर्णय गरेको छ । अर्थमन्त्री एवं सरकारका प्रवक्ता युवराज खतिवडाले बिहीबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सेवा क्षेत्र खोलेर असंगठित क्षेत्रका श्रमिकलाई काममा आबद्ध गर्ने तयारी भएको बताए ।

यसले श्रमिकको जीवनयापन सजिलो हुने उनको भनाइ छ । ‘अब हामीले राहतसँगै काममा पनि जोड दिनुपर्छ,’ उनले भने, ‘श्रम भनेको उत्पादक शक्ति हो ।’

बजेट जेठ १५ मै

सरकारले जेठ १५ मै संसद्मा बजेट प्रस्तुत गर्ने तयारी गरेको पनि अर्थमन्त्री खतिवडाले बताए । अवस्था असहज भए पनि कर्मचारीले बजेटका लागि काम गरिरहेको उनको भनाइ छ । ‘जोखिममै भए पनि बजेट तयारीका काममा कर्मचारी खटिएका छन्,’ उनले भने ।

कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि सरकारले चालेका कदम जीवनरक्षासँग सम्बन्धित भएको उनले बताए । त्यसकारण आर्थिक क्रियाकलापमा प्रतिकूल असर परेको उनको भनाइ छ । ‘राजस्व संकलन अपेक्षाकृत रूपमा हुन सकेको छैन, हाम्रो खर्च गर्ने क्षमतामा पनि कहीँ न कहीँ अवरोध आएको छ,’ उनले भने ।

बजेट कस्तो ल्याउने भन्नेबारे सरोकारवालासँग पर्याप्त छलफल एवं अन्तर्क्रिया गर्न नसकिएको उनले बताए ।कान्तिपुर

तपाईको प्रतिक्रिया