Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

अनलाइनबिचार

गौरादह, ६ बैशाख २०७७। गौरादहका अतिआवस्यकीय खाद्यान्न तथा तरकारीका पसलहरु दिनको ४ घण्टा मात्र खुल्ने भएका छन् ।
लकडाउनलाई थप प्रभावकारी बनाउन आज शनिबारबाट गौरादह बजारका पसलहरु दिनको १२ बजेदेखि ४ बजे सम्म खेलिने भएको हो ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या बढेपछि लकडाउनमा समेत थप कडाइ गरिएको छ ।

खाद्यान्न पसल तथा तरकारी पसलमा भीड हुँदा कोरोना भाइरसको जोखिम झन् बढ्ने सम्भावनालाई मध्यनजर गर्दै बजारमा रहेका खाद्यान्न तथा सब्जी पसल खोल्ने समय परिवर्तन गरिएको बताइएको छ ।

भिडभाडलाई नियन्त्रण गर्न र कोरोना संक्रमण नियन्त्रणका लागि नेपाल सरकारले गत चैत्र ११ गतेदेखि देश नै पूर्णरुपमा लकडाउन गरेको छ ।
विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोना संक्रमणको जोखिमबाट बच्न बचाउन स्वास्थ्य सावधानी सहित सामाजिक दुरीको कायम गर्दै गौरादहमा रहेका उपभोक्ता तथा व्यवसायीलाई दैनिकि रुपमा अति आवश्यक सामग्री खरिद बिक्रि गर्न सो समय निर्धारण गर्ने निर्णय भएको गौरादह उद्योग वाणिज्य संघका अध्यक्ष जेबी कार्कीले बताए ।

कार्कीका अनुसार खाद्यान्न सामग्री खरिद बिक्रि गर्ने बहानामा अनावश्यक भिडभाड हुने भएकोले त्यसलाई निरुत्साहित गर्न पनि सर्वपक्षीय भेलाले यसअघि नै उक्त निर्णय गरिसकेको र संक्रमणको सँख्या बढ्दै गइरहेकोले आजबाट कडाइका साथ यो नियम लागु गर्नुपरेको हो ।

यसअघि बिहान ६ बजेदेखि साँझ ६ बजे सम्म खाद्यान्न तथा तरकारीपसल खुल्ला रहेका थिए । परिवर्तित समय अनुसार लकडाउनलाई थप कडाई गर्न इलाका प्रहरी कार्यालय गौरादहले अधिकतम् जनशक्ति र स्रोत साधनको परिचालन गर्दै रहेको इन्चार्ज बिनोद श्रेष्ठले बताए ।
श्रेष्ठका अनुसार लकडाउन उल्लंघन गर्नेलाई कार्यवाही स्वरुप कानुन बमोजिम कडा कदम चालिने तयारी रहेको छ ।

तपाईको प्रतिक्रिया