Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

विराटनगर, १९ फागुन । विराटनगरका औषधि पसल (फार्मेसी) बाट बिरामीलाई म्याद गुज्रिएका औषधि बिक्री गर्ने गरेको पाइएको छ । औषधिका बारेमा विज्ञ प्राविधिक समेत नराखिकन औषधि बेचबिखन हुने गरेको पनि भेटिएको छ ।

औषधि व्यवस्था विभागले आइतबार गरेको अनुगमनका क्रममा म्याद गुज्रिएका र प्राविधिक नै नराखिकन बिरामीलाई आफूखुसी औषधि बिक्री गरेर फार्मेसी सञ्चालनका नाममा मानव स्वास्थ्यमाथि खेलवाड गरिरहेको पाइएको हो । नियम विपरित औषधि बेचबिखन हुने गरेको पाइएपछि विभागका फार्मेसी अधिृकत चतुर्भुजप्रसाद यादवको नेतृत्वको टोलीले विभिन्न औषधि पसलमा अनुगमन गरेर छापा मारेको छ ।

विराटनगर ९ न्युरो हस्पिटल अगाडि विकाश मण्डलले सञ्चालन गरेको ‘हाम्रो फ्रेन्डसिप फार्मेसी’ बाट सेवन गर्ने म्याद सकिएका ठूलो परिणामको औषधि समेत बरामद भएको विभागको विराटनगर कार्यालयका निमित्त प्रमुख दीपेन्द्र खड्काले बताए । उनकाअनुसार उक्त फार्मेसीमा १५ प्रकारका म्याद नाघेका औषधि फेला परेका छन् ।

म्याद गुज्रिएका एक सय ३९ परिणाम औषधि बरामद गरिएको उनले बताए । फार्मेसी सञ्चालकले अरु औषधि नराखिकन भिन्दै ठाउँमा राखेर म्याद गुज्रिएका औषधि बेच्ने गरेको पाइएको खड्काले भने, म्याद गुज्रिएका औषधिमा सबै इन्जेक्सन आइटम रहेको बताएका छन् ।
म्याद सकिएका औषधिमा लेबल लगाएर नयाँ मिति जारी गरी औषधि पुनः बिक्री गर्ने गरेको पनि विभागको भनाइ छ । बरामद औषधि ल्याएर हामीले अनुसन्धान सुरू गरेको र फार्मेसी सञ्चालकमाथि भने सोमबारबाट बयान सुरु हुने बताए ।

खड्काले यस विषयमा धेरै कुरा बुझ्नु पर्ने भएकाले विस्तृत रुपमा अनुसन्धान भइरहेको जनाए । फार्मेसी सञ्चालक मण्डलले भने म्याद सकिएका औषधि नष्ट गर्न अरु भन्दा अलग्गै ठाउँमा राखिएको दाबी गरेका छन् ।

त्यस्तै, विराटनगर ९ कै आँगन फार्मेसीमा प्राविधिक नराखिकन औषधि पसल सञ्चालक गर्ने गरेको पाइएको छ । अनुगमनपछि विभागको टोलीले सञ्चालक जयकुमार पुलामी मगरलाई आइतबार पक्राउ गरेको छ । विभागमा पसल दर्ता भए पनि प्राविधिक नराखिकन औषधि बिक्री वितरण हुने गरेको पाइएपछि सञ्चालकलाई पक्राउ गरिएको खड्काले बताए ।

उनकाअनुसार फार्मेसी सञ्चालन गर्दा अनिवार्य औषधि सल्लाकार समितिबाट ३ महिनाको ‘ओरेनटेसन’ तालिम लिएको वा फार्मेसीमा तीन वर्ष डिप्लोमा गरेको प्राविधिक हुने पर्ने व्यवस्था छ । तर, विभागले अनुगमन गर्दा फार्मेसीले प्राविधिक बिनानै औषधि पसल सञ्चालन गर्ने गरेको पाइएको हो ।

मगरलाई जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको खड्को भनाइ छ । उनले म्याद सकिएको औषधि बेच्ने र प्राविधिक बिनानै फार्मेसी सञ्चालन गर्ने विरुद्ध औषधि ऐन बमोजिम कारबाहीको प्रक्रिया अघि बढाइने जानकारी दिए ।

उनकाअनुसार दुवै औषधि पसल बन्द गराउने प्रक्रिया पनि अघि बढाइएको छ । खड्काले विराटनगरका सबै औषधि पसलका बारेमा सुक्ष्म ढंगले अनुसन्धान गर्ने काम भइरहेको बताउँदै गल्ती गर्नेमाथि कानुनी कारबाही गरिने जानकारी दिए ।अन्नपूर्णपोष्ट

तपाईको प्रतिक्रिया