Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

काठमाडौं, २३ पुष । मोबाइलमा रहेको ब्यालेन्सबाट पनि सामान किन्न मिल्ने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले यस्तो सेवाका लागि सहजीकरण गर्न कार्यविधि जारी गरेको छ । प्राधिकरण सञ्चालक समितिले पारित गरेको निर्देशिका प्रमाणीकरण भइसकेको छ ।

मोबाइल ब्यालेन्स प्रयोग गरी विद्युतीय माध्यमबाट वस्तु तथा सेवा खरिद गर्नेसम्बन्धी कार्यविधिमा एक पटकमा १ हजार रुपैयाँ र महिनामा १० हजार रुपैयाँसम्मका सामान तथा सेवा मोबाइलको ब्यालेन्स प्रयोग गरी खरिद गर्न सकिनेछ ।

तत्कालका लागि मोबाइल ब्यालेन्स प्रयोग गरी वस्तु खरिद गर्न नसके पनि अनलाइन कन्टेन्ट खरिदलाई लक्ष्य गरी कार्यविधि ल्याइएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए । अहिले बैंकिङ प्रणालीमार्फत मोबाइल वालेटमा रकम ट्रान्सफर गरी वस्तु तथा सेवा खरिद गर्न सकिने प्रविधि सञ्चालनमा छन् ।

मोबाइल ब्यालेन्समार्फत ग्राहकले वस्तु तथा सेवा खरिदका लागि रिचार्ज कार्ड वा अन्य विधिबाट मोबाइलमा ब्यालेन्स हालेर त्यसैमार्फत कारोबार गर्न सकिन्छ । यद्यपि यस्तो सुविधा अहिले केही दूरसञ्चार कम्पनीले दिइरहेका छन् । मोबाइल प्रयोगकर्ताले अनलाइन गेम, सीआरबीटी तथा पीआरबीटीजस्ता दूरसञ्चार सेवा प्रदायकले उपभोक्तालाई बिक्री गर्ने सेवा खरिदका लागि कार्यविधि ल्याइएको अर्यालले बताए । कार्यविधिले यस्ता सेवा खरिदलाई नियमन गर्ने प्रावधान राखेको छ ।

साथै नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंक मिलेर सुरु गर्न लागेको मोबाइल मनी सेवालाई पनि नियमन गर्नेछ । यी दुई सरकारी स्वामित्वका निकायले संयुक्त रूपमा कम्पनी स्थापना गरी मोबाइल मनी सेवा सुरु गर्न लागेका हुन् । उक्त कम्पनी स्थापना भएपछि उपभोक्ताले मोबाइल ब्यालेन्सबाटै सामान गरिद गर्न सक्ने सुविधा सुरु हुनेछ ।

कार्यविधिमा यस्ता सेवा सञ्चालन गर्दा उपकरणहरू अन्तर्राष्ट्रिय मापदण्डअनुसार हुनुपर्ने र उपकरणहरू दूरसञ्चार सेवा प्रदायकहरूसँग पूर्ण रुपले अनुकूल हुनुपर्ने प्रावधान छ । सेवा प्रदायकले त्यस्ता सेवाको गुणस्तर, मूल्य, बिलिङ, सेवासम्बन्धी जानकारी ग्राहकलाई सजिलै दिनुपर्ने र जानकारी निःशुल्क एसएमएसमार्फत पठाउनुपर्ने प्रावधान तोकिएको छ ।

अहिले प्रचलनमा रहेका मोबाइल भुक्तानी सेवाहरू जस्तै मोबाइल ब्यालेन्सबाट वस्तु तथा सेवाहरू खरिद गर्दा दूरसञ्चार सेवा शुल्क नलाग्ने कार्यविधिमा उल्लेख छ । दूरसञ्चार सेवा प्रदायकले मोबाइल ब्यालेन्समार्फत गरिएको भुक्तानीको बिल वा विवरण ग्राहकलाई अनिवार्य दिनुपर्ने व्यवस्था कार्यविधिमा छ । मोबाइल ब्यालेन्समार्फत हुने कारोबारको विवरण दूरसञ्चार कम्पनीले कम्तीमा पनि तीन महिना सुरक्षित राख्नुपर्ने व्यवस्था छ ।

तपाईको प्रतिक्रिया