Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

काठमाडौं, १६ पुष । कोंकण रेलवे कर्पोरेसनले माघ १ गते नेपालका लागि रेल पठाउने भएको छ। कोंकणले नेपालका लागि बिक्री गर्ने रेल तयार पारिसकेको छ। रंगरोगनको काम सकेपछि यो रेल नेपालका लागि हिँड्नेछ। यो रेल भारतको विजयवाडा, इटारसी, अलहावाद, पटना हुँदै जयनगर आउनेछ। जनकपुरमा रेल आएपछि नेपाल रेल्वेलाई हस्तान्तरण गरिनेछ।

सम्भवतः माघको दोस्रो साता नेपालमा रेल आइपुग्नेछ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङले नेपालले माघ १ गते नेपालका लागि भारतबाट नेपालकै रेल आउने जानकारी दिएका हुन्।

नेपालले सञ्चालन गर्न लागेको रेलमा एक लोकोमोटीभ र पाँच डब्बा हुनेछन्। दुवै रेल धनुषा (कुर्था)–जनकपुर हुँदै भारतको जयनगरसम्म सञ्चालन हुनेछ। रेल जीटूजी (दुई सरकारको तहमा) भारतीय कम्पनीसँग किनिएको हो। नेपाल सरकारले सम्झौताअनुरुप २० प्रतिशत रकम दिएको छ। रेल सञ्चालनमा आएपछि बाँकी ८० प्रतिशत रकम पनि भुक्तानी गर्नेछ।

नयाँ रेल जयनगर–जनकपुर–वैजालमा सञ्चालन गर्ने तयारी गरिएको छ। यसको दूरी ५१ किलोमिटर छ। मन्त्रिपरिषद्ले २०७५ चैतमा कोंकण रेलवे कर्पोरेसनसँग ८४ करोड ६५ लाख रुपैयाँमा दुईवटा रेल खरिद गर्न विभागलाई सैद्धान्तिक सहमति प्रदान गरेको थियो। २०७६ वैशाख २७ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र भारतीय राजदूतावासबीच रेल खरिद सम्झौता भएको थियो। असोज २ गते रेलवे ऐन, २०७६ को विधेयक मस्यौदालाई संघीय संसद्को बैठकमा पेस गर्न स्वीकृति दिइएको छ।

रेल विभागका महानिर्देशक बलराम मिश्रका अनुसार पहिलो चरणमा जयनगर–जनकपुर–कुर्था ३४ किलोमिटर रेलमार्ग विस्तार भइसकेको छ। बाँकी कुर्था–विजलापुर १७ किमि पनि भारतकै सहयोगमा विस्तार भइरहेको छ।

रेलमार्गमा आठवटा स्टेसन रहनेछ। भारतको जयनगर, नेपालको इनरुवा, खजुरी, वैदेही, परवाह, जनकपुर र कुर्थामा स्टेसन रहनेछ। तर, अहिलेसम्म रेल सञ्चालनको मोडालिटीको भने टुंगो लागेको छैन।अन्नपूर्णपोष्ट

तपाईको प्रतिक्रिया