Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024

काठमाडौं, ११ पुष । तरकारी तथा फलफूलको बिक्रीमा बिचौलिया अन्त्य गर्न ६ जिल्लामा ११ सहकारी बजार स्थापना गरिने भएको छ। भूमि व्यवस्था, सहकारी गरिबी निवारण मन्त्रालयले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम(यूएनडीपी)को सहयोगमा काठमाडौंसहित आसपासका ६ जिल्लामा संकलन केन्द्र र सहकारी बजार स्थापना गर्न लागेको हो।

फलफूल र तरकारी उत्पादन हुने नुवाकोट, धादिङ, काभ्रे, मकवानपुर, चितवनमा संकलन केन्द्र तथा तरकारी बजार र काठमाडौं उपत्यकामा चार ठाउँमा तरकारी बजार स्थापना हुने भएको छ।

अहिले धेरै चरणमा बिचौलियाबाट काठमाडौंसम्म तरकारी हुँदा उपभोक्ताले महँगोमा खानुपर्ने र किसानले उचित मूल्य नपाउने समस्या छ। कम्तीमा ५/६ तहमा किनबेच भई कालिमाटीसम्म आइपुग्दा तरकारी महँगो हुने गरेको छ। सहकारी बजार विकास कार्यक्रम (सीएमडीपी) मार्फत पहिलोचरणमा प्रदेश ३ अन्तर्गतका चितवन, मकवानपुर, धादिङ, नुवाकोट, काभ्रे र ललितपुर जिल्लामा सहकारी बजार स्थापना हुन लागेको हो।

१ अर्ब १४ करोड लागतमा सहकारी बजार स्थापना हुँदै छ। त्यसमध्ये ५१ करोड सरकारले र २० करोड यूएनडीपीले खर्च गर्नेछन्। नपुग थप रकम सरकार र यूएनडीपीले लगानी गर्ने छन्। बजार व्यवस्थापन भइसकेपछि यस कार्यक्रमले तरकारी र फलफूलको क्षेत्रमा देशलाई आत्मनिर्भर बनाउने लक्ष्य राखिएको छ।अन्नपूर्णपोष्ट

तपाईको प्रतिक्रिया