Online Bichar
मंगलबार, जेठ १२, २०८३ | Tuesday, May 26, 2026

गौरादह, १० पुष । प्रदेश नं.१ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कुमार कार्कीले गरिबी निवारण र बेरोजगारी समस्या समाधान मुलुकको मुख्य चुनौती रहेको बताएका छन। सिद्धार्थ बैंक शाखा गौरादहको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कार्कीले गरिबी निवारणकालागि यस क्षेत्रमा उत्पादन हने कृषि जन्य बस्तुमा आधारित उद्योगहरु खोलेर संचालनमा ल्याउन आवश्यक रहेको बताएका छन। दक्षिणी क्षेत्र कृषिका लागि उर्वर भूमि रहेकाले किसानहरूले उत्पादन गरेको अन्न बालिलाई प्रबर्द्धन गर्न त्यसमा आधारित उद्योग संचालन गर्दा रोजगारीका अवसर सृजना भई गरिबि निवारण हुने बताए।

बैंक प्रति नागरिकको आकर्षण बढाउन जनताको मनोभावना बुझेर सेवा प्रदान गर्न समेत बैंकलाई आग्रह गरेका छन। द्रुतगतिमा विकासमा अगाडि बढीरहेको गौरादहमा अधिकांश मानिसहरुको पेसा कृषि रहेकाले किसानलाई सस्तो ब्याज दरमा र सहज रुपमा ऋण लगानी, पर्यटन तथा उद्योगको क्षेत्रमा लगानी गर्न बैंकहरुलाई अनुरोध गरेका छन।

गौरादह अरु ठाउँको तुलनामा शान्ति प्रिय र सुरक्षित रहेकोले यो क्षेत्र बैैकिङ कारोबारको, वित्तिय कारोबारको र उद्योग धन्दा लगानीका लागि सुरक्षित क्षेत्रका रुपमा रहेको बताएका छन् । प्रत्यक्ष दिन दैनिक कारोबार गर्न आउने पुरानो बजारको रुपमा गौरादह बजार स्थापित रहेकोले यो ठाउँ हरेक हिसाबले अगाडि बढ्दै गरेकोले लगानीकर्ताहरुलाई ढुक्क भएर लगानी गर्न आग्रह गरेका छन् ।

यस्तै, उनले अर्को सन्दर्भमा गौरादह इलाका प्रहरी कार्यालयलाई ‘क’ श्रेणीमा स्तरोन्नति गर्नु का साथै आधुनिक भवन निर्माणको लागि बजेट विनियोजन गरिसकेको बताउँदै चाँडै शिलान्यास गर्ने बताए ।

गौरादह नगरपालिकाका मेयर रोहित कुमार शाहले बैंकले दिईने सबै प्रकारका सेवा नागरिकले सहज रुपमा पाउनु पर्ने धारणा राखे। यहाँका किसानहरुको जिवन स्तर उकास्न सस्तो व्याजदरमा कृषि कर्जा प्रवाह गराउनुका साथै गौरादहमा छरिएर रहेका सबै बैंकहरुका एटिएम सेवाहरु एकै स्थानमा स्थापना गर्न आग्रह गरेका थिए ।

सिद्धार्थ बैंकले १७६ औ शाखाको रुपमा संचालनमा ल्याएको छ। २०७५ साल बैशाख २९ गतेबाट गौरादहमा बैंकको कार्यलय खोलि नागरिकहरुलाई सेवा दिदै आएको सिद्वार्थ बैंकको बिहिवार औपचारिक रुपमा उद्घाटन गरिएको छ। सिद्वार्थ बैंकले १७ बर्ष पुरागर्दा नागरिकहरुलाई आधुनिक बैंकिङ सुबिधा दिन सफल भएको जानकारी गराईएको थियो।

बैंकले नागरिकहरुलाई कर्जा,निक्षेप,रेमिट्यान्स, इन्स्योरेन्स सेवाका साथै सामाजिक कामहरु समेत गर्दै आएको केन्द्रीय सहायक सि.इ.ओ रामेस्वर बस्यालले जानकारी गराए। बैंकको १ खर्ब ३० अर्बको निक्षेप संकलन, २ सय बढी एटीएम १ सय १ वटा शाखा रहित सेवा संचालनमा आएको बस्यालले जानकारी गराए।

सिद्धार्थ बैंकका डेपुटी सि.इ.ओ सुन्दर प्रसाद कडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा गौरादह उद्योग बाणिज्य संघ अध्यक्ष जीवन राईले शुभकामना मन्तब्य राखेका थिए। बैंकका गौरादह शाखा प्रमुख नुतन गिरीले स्वागत मन्तब्य राखेका थिए।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments