Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

एटीसीलगायत आवश्यक जनशक्ति तयार, कर्मचारीलाई प्रोत्साहन भत्ता

 काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सोमबारबाट दैनिक २१ घण्टा सञ्चालनमा आउने भएको छ ।

विमानस्थल हाल दैनिक १८ घण्टा सञ्चालन हुँदै आएकोमा थप तीन घण्टा बढी सञ्चालनमा ल्याइएको हो ।

दैनिक २१ घण्टा विमानस्थल सञ्चालन हुँदा उडान अवतरणको चाप घट्ने र आकाशमै जहाजलाई ‘होल्ड’ गर्नुपर्ने समस्या समाधान हुने विश्वास छ ।

विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले अनलाइनखबरसँग भने, ‘हिजोसम्म साढे १२ बजेसम्म सञ्चालन हुँदै आएको विमानस्थल आजबाट बिहान ६ बजेदेखि अर्को दिन बिहान तीन बजेसम्म सञ्चालन हुन्छ । अब विगतको जस्ता समस्या रहँदैन ।’

त्रिभुवन विमानस्थललाई २१ घण्टा सञ्चालन गर्न चाहिने एटीसीलगायत आवश्यक जनशक्ति व्यवस्थापन भइसकेको क्षेत्रीले बताए । उनका अनुसार बोर्ड बैठकले अतिरिक्त समय खटिने कर्मचारीहरुलाई प्रोत्साहन भत्ता दिने निर्णय पनि गरिसकेको छ ।

यसअघि पर्यटन मन्त्री रविन्द्र अधिकारीले एक सय दिने कार्ययोजना सार्वजनिक गर्दै दैनिक २१ घण्टा विमानस्थल सञ्चालन गर्न निर्देशन दिएका थिए । उनको निर्देशन अनुसार अन्तर्राष्ट्रिय विमानस्थल पहिलोपटक २१ घण्टा सञ्चालनमा ल्याउन सुरु गरिएको हो ।

तपाईको प्रतिक्रिया