Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

हेटौँडा, १३ मंसिर। देशका विभिन्न स्थानमा वितरण गर्न ल्याइएका ट्रान्सफर्मर हेटौँडाका विभिन्न स्थानका खुला चौरमा असरल्ल थुपारिएका छन् । नेपाल विद्युत् प्राधिकरणले ग्लोबल टेन्डरमार्फत वितरणका लागि ल्याएको ट्रान्सफर्मर प्राधिकरणमा स्थान अभाव भएपछि हेटौँडा उपमहानगरपालिका–४ स्थित हुप्राचौर, वडा नम्बर १० को टीसीएनको खुला चौरलगायतका स्थानमा राखिएको हो ।

विद्युत् प्राधिकरणले गत आर्थिक वर्ष २०७५/७६ मा चिनियाँ र भारतीय गरी चारवटा कम्पनीबाट ट्रान्सफर्मर खरिद गरेको थियो । विभिन्न क्षमताका १३ हजार पाँचवटा ट्रान्सफर्मरमध्ये नौ हजारवटा हेटौँडा–५ स्थित केन्द्रीय भण्डारमा परीक्षण गरी देशको विभिन्न स्थानमा पठाइएको छ । केन्द्रीय भण्डारमा स्थान अभावका कारण खुला चौरमा अव्यवस्थित राख्नुपरेको बताउँदै केन्द्रीय भण्डारका प्रमुख बुद्धकुमार कार्कीले केन्द्रीय वर्कसपमा ट्रान्सफर्मर जाँच गरेपछि आफूहरूले जिम्मा लिएर वितरण गर्ने गरेको जानकारी दिए ।

विद्युत् प्राधिकरणको ट्रान्सफर्मर जाँच गर्ने वर्कसप हेटौँडा र काठमाडौँमा मात्र रहेकाले खरिद गरिएको ट्रान्सफर्मर प्राविधिक रूपमा जाँच गर्न ढिलाइ भएको उहाँले बताए ।
प्राधिकरणले ग्लोबल टेन्डरमार्फत गत आर्थिक वर्षमा चिनियाँ दुई र भारतको दुई कम्पनीमार्फत ट्रान्सफर्मर खरिद गरेकामा भारतीय दुवै कम्पनी र चिनियाँ एउटा कम्पनीको सबै सामान आइसकेको छ । प्राधिकरणको केन्द्रीय वर्कसपमा अनिवार्य परीक्षण गराउनुपर्ने यी ट्रान्सफर्मर प्राधिकरणले समयमै परीक्षण गर्न नसक्दा अलपत्र परेका र समयमा माग भएको स्थानमा पु¥याउन नसकिएको हो ।

एउटा चिनियाँ कम्पनीको केही ट्रान्सफर्मर आएका र आउने क्रम बाँकी रहेको बताउँदै केन्द्रीय भण्डारका प्रमुख कार्कीले करिब चार हजार ट्रान्सफर्मर वर्कसपमा परीक्षण गरी पठाउन बाँकी रहेको जानकारी दिए । उहाँले भन्नुभयो, केन्द्रीय वर्कसपका ट्रान्सफर्मर जाँच गर्ने इन्जिनियर तालिमका लागि भारत गएकाले प्राविधिक परीक्षणमा ढिलाइ भएको हो । १५ देखि तीन सय केभीए क्षमतासम्मका ट्रान्सफर्मर आयात गरिएको छ ।

हाल ट्रान्सफर्मर आपूर्ति गर्ने कम्पनीले हेटौँडा–४ स्थित हुप्राचौरमा भाडा तिरेर राखेको छ भने केन्द्रीय भण्डारमा स्थान अभावमा टीसीएनको चौर र प्राधिकरणको २२० केभीए प्रसारण लाइनको कार्यालय परिसरमा समेत करोडौँ मूल्यका ट्रान्सफर्मर राखिएको छ ।

केन्द्रीय वर्कसपमा दैनिक ५० देखि ७० वटाको प्राविधिक परीक्षण गर्नसक्ने क्षमता रहेको छ ।प्राधिकरण केन्द्रीय भण्डारका प्रमुख कार्कीले ट्रान्सफर्मरको प्राविधिक परीक्षण गरी केन्द्रीय भण्डारमा नआएसम्म प्राधिकरणले जिम्मेवारी नलिने सम्झौता रहेको जानकारी दिए ।गोरखापत्र

तपाईको प्रतिक्रिया