Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024

काठमाडौं, ७ मंसिर । सरकारले प्रतिबन्ध लगाए पनि भारतसँगको खुला सीमाका तराईका जिल्लामा निर्धक्क विषादी प्रयोग भइरहेको छ । सुरक्षाकर्मीको आँखा छलेर यस्ता विषादी भित्र्याई फलफूल, तरकारी तथा खेती किसानीका क्षेत्रमा प्रयोग गर्ने गरेका हुन् ।

प्लान्ट क्वारेन्टाइन एवं विषादी व्यवस्थापन केन्द्रले यस्ता विषादीलाई रातो स्तरमा सूचीकृत गरे पनि नियन्त्रणमा आउन सकेको छैन । विषादी व्यवस्थापन केन्द्र प्रमुख सहदेवप्रसाद हुमागाईका अनुसार सबैभन्दा बढी २०५७ मा १२ विषादीको आयातमा प्रतिबन्ध लगाइएको थियो ।

‘२०७६ साउनमा थप ३ विषादी आयातमा प्रतिबन्ध लगाएको हुमागाईले बताए । उनका अनुसार प्रतिबन्ध लगाएपछि आयात गर्न पाइँदैन । आयात भइसकेका विषादी मुलुकभित्र बिक्री गर्न दुई वर्षको म्याद दिइन्छ ।केन्द्रले गैरकानुनी दाबी गरे पनि प्रतिबन्धित विषादीको तराई क्षेत्रमा भने कारोबार भइरहेको छ । व्यवसायी तथा किसानले खुला रूपमा आयात र कारोबार गर्दा पनि नियामक निकायले नियन्त्रण गर्न नसकेको हो । विषादीको अनुगमन तथा कारबाही गर्ने दायित्व केन्द्रकै हो । केन्द्रले कर्मचारी अभाव जनाउँदै अनुगमन गरेको छैन ।

केन्द्रका अनुसार हालसम्म क्लोरडेन, डीडीटी, डाइअल्ट्रिन, इन्ड्रिन हेप्टाक्लोर, मिरेक्स, टोक्साफेन, लिन्डेन नामक विषादी प्रतिबन्ध गरिएको छ । बीएचसी, फस्फामिडन, अर्गेनोमर्करी क्लोराइड, मिथायल पाराथियन, मनोक्रोटोफस, इन्डोसल्फान, फोरेट, कार्बोफ्युरान, कार्बोरिल, डाइक्लोरभस, ट्रायजोफस, बेनोमाइललगायत विषादीमा पनि प्रतिबन्ध लगाइएको छ ।‘ भर्खर प्रतिबन्ध गरिएको विषादी बिक्री हुने सम्भावना छ । खुला सिमानाका कारण किसान तथा व्यापारीले भारतबाट झोलामा ल्याएको पनि अनुमान छ,’ केन्द्रका सूचना अधिकारी रामकृष्ण सुवेदीले भने । उनका अनुसार विगतमा निरीक्षण गर्न ज्ञान केन्द्र थिए । ज्ञान केन्द्रमा पर्याप्त निरीक्षक थिए । ‘संघीय संरचनासँगै विषादीसम्बन्धी काम गर्न प्रदेश सरकारसँग कानुन छैन,’ उनले भने, ‘त्यसैले अनुगमन र कारबाही गर्न सकिएन ।’

जीवनाशक विषादी ऐन २०४८ अनुसार सूचीकृतबाहेक अन्य विषादीको प्रयोग र बिक्री गर्न पाइँदैन । सूचीकृत विषादी बिक्री गर्न अनिवार्य रूपमा इजाजत पत्र लिनुपर्छ । नियम पालना नगर्ने व्यवसायीलाई ५ हजार रुपैयाँ जरिवाना र विषादी जफत गर्न सकिने व्यवस्था छ । आयातित अधिकांश विषादी तरकारी तथा फलफूलमा प्रयोग भएको छ । खेती प्रणालीमा देखिएको समस्याले विषादीको आयात बढ्दै गएको छ । केन्द्रको तथ्यांकअनुसार बर्सेनि अर्बौं रुपैयाँको विषादी आयात भइरहेको छ ।किटनाशक विषादी धेरै आयात हुन्छ । विषादीको प्रयोगले खेतीबालीमा थप जटिलता पैदा भएको जानकारहरू बताउँछन् ।

विषादीकै कारण जमिनको उर्वराशक्ति कमजोर हुँदै गएको छ । खेतमा किराको प्रकोप बढेको उनीहरूको दाबी छ । विषादी मुख्यतः भारत, चीन, जर्मनलगायत मुलुकबाट आयात भइरहेको छ । ती विषादी कृषि, घरायसी र स्वास्थ्य क्षेत्रका लागि आयात गरिन्छ । केन्द्रका पूर्वमहानिर्देशक डिल्ली शर्माले आयातित विषादी सबैभन्दा बढी कृषि क्षेत्रमा खपत भइरहेको बताए । करिब ८५ प्रतिशत फलफूल तथा तरकारीमा खपत हुन्छ । विषादीको उचित तरिकाले प्रयोग हुन नसक्दा समस्या निम्तिने गरेको छ ।कान्तिपुर

तपाईको प्रतिक्रिया