गौरादह, २४ कार्तिक । झापाको कमलगाउँपालिका-३ स्थित केरखामा रहेको नवोदय बहुउद्देश्यीय सहकारी संस्थाले २१औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
कमलगाउँपालिका-५ स्थित हेभन्लीपाथको सभाहलमा संचालन गरिएको साधारण सभामा संचालक समितिका अध्यक्ष शरण कुमार पराजुलीले ले प्रस्तुत गरेको प्रतिवेदनमा संस्थाले गत आर्थिक वर्षमा २ करोड २१ लाख ५७ हजार ६ सय ७९ नाफा गरेकोमा यस आर्थिक वर्षमा ३ करोड २८ लाख २२ हजार ८ सय १७ नाफा गरेको जानकारी गराएका थिए । प्रस्तुत प्रतिवेदनमा यस आर्थिक वर्षमा आम्दानी तर्फ १० करोड ७५ लाख १२ हजार २ सय २८ र खर्च तर्फ ७ करोड ४६ लाख ८९ हजार ४ सय ११ रुपैया रहेको प्रतिवेदन प्रस्तुत गरेका थिए । ६३ करोड २४ लाख २२ हजार ५ सय २६ संस्थाको वासलात रहेको छ ।
संस्थाका संयोजक डम्बर कुमार पौडेलले लेखा तथा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
साधारण सभाको अवसरमा संस्थामा आबद्ध शेयर सदस्यका छोराछोरीहरू मध्ये एस.ई.ई परिक्षामा उत्कृष्ट अंक ल्याउने सामुदायिक र संस्थागत बिद्यालय बाट ३ जना विद्यार्थीहरु, उत्कृष्ट बचतकर्ता तर्फ ३ जना, उत्कृष्ट ऋणी तर्फ ३ जना, उत्कृष्ट शेयर सदस्यमा १ जना, लक्ष्य अनुसारको कार्यसम्पादन गरेबापत २ जना, उत्कृष्ट कर्मचारी तर्फ २ जना, उत्कृष्ट केन्द्रहरु तर्फ ४ जना, उत्कृष्ट व्यवसायी तर्फ ८ जना, सूर्योदय टेलिभिजन, सहकारीका अभियन्ता तथा झापा जिल्ला सहकारी संघ लिमिटेड का पूर्व अध्यक्ष तुलसी प्रसाद ढकाल, नेपाल रेडक्रस सोसाईटि दमक शाखा र संस्थाका पूर्व अध्यक्ष दिलिप कुमार चापागाईंलाई सम्मान गरिएको थियो ।
संस्थाका पूर्व अध्यक्ष दिलिप कुमार चापागाईं, झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकाल, कमलगाउँपालिका-५ का वडाध्यक्ष डम्बर बहादुर निरौला लगायतले शुभकामना मन्तव्य राखेका थिए । संस्थाका अध्यक्ष शरणकुमार पराजुलीको सभापतित्वमा सम्पन्न कार्यक्रममा सुशासन तथा योजना समिति प्रदेश १ सभा सदस्य अर्जुन राई प्रमुख अतिथि रहेका थिए । संस्थाका उपाध्यक्ष बलराम गजुरेलले कार्यक्रम सञ्चालन गरेका थिए ।






