Online Bichar
सोमबार, मंसिर ०८, २०८३ | Monday, November 23, 2026

दमक, १९ कात्तिक । झापामा सुरुवातदेखि नै धानमा विभिन्न रोगको प्रकोप देखा परेर पीडित बनेका किसानहरू पाकेको धानमा फेरि अर्को रोग देखापरेपछि समस्यामा परेका छन् । धानमा लाग्ने फड्के रोगले पाक्नै थालेका धान नोक्सान गर्न थालेपछि किसान चिन्तित बनेका छन् ।

फौजी कीरा, शिट ब्लाइट, नेक ब्लास्टलगायतका रोगको प्रकोपपछि पाकेको काट्नु पर्ने धानमा फड्के (ब्राउन होपर) कीराको सङ्क्रमण देखिएको छ । यसले धान डढाएर सोत्तर बनाएको किसानहरूले बताएका छन् । कमल गाउँपालिका–६ का अगुवा किसान टङ्कप्रसाद सापकोटाका अनुसार खेतमा धान डढेर सोत्तर बनेको छ । पाकेर काट्न लागेको धान सबै खेतमा नै नष्ट भएको उनले बताएका छन् । यस्तो यसभन्दा अगाडि कहिल्यै पनि नदेखेको जनाउँदै यो वर्ष यस्तो भएको बताउँदै आफ्नो मात्र नभएर बुझ्दै जाँदा छरछिमेक र अन्यत्रसमेत यस्तै भएको उनले बताएका छन् ।

कृषि ज्ञान केन्द्र झापाका निमित्त प्रमुख शेषराज पौड्यालका अनुसार फड्के कीराको प्रकोप जिल्लाभर देखिएको उनले बताए । केही दिनयता स्थानीय तहहरूमा यसको प्रकोप देखिएको भनेर खबरहरू आइरहेको छ, उनले भने। सुकेको परालमा आगो लगाउँदा सल्के जसरी नै यो सरुवा रोग भएकाले चाँडो विषादी प्रयोग गरेर समयमा नियन्त्रणमा लिन नसकेमा ठूलो क्षति हुनेसमेत  उनको भनाइ छ ।
भद्रपुर, मेचीनगर र दमक नगरपालिका, हल्दीबारी, कमललगायतका गाउँपालिकामा यो समस्या देखिएको र किसानहरूले जानकारी गराउन थालेको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ । पौड्यालका अनुसार यो भर्खर सुरु भएकाले अब सबैतिर देखिन सक्ने पनि जनाएका छन् ।

उत्पादन घट्न सक्ने
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, सुपरजोन परियोजना कार्यान्वयन एकाइ झापाका प्रमुख रवीन्द्र सुवेदीका अनुसार सुपरजोन क्षेत्रमा पनि यो पटक विभिन्न रोगको प्रकोप देखिएको छ । अहिले पाक्न लागेको धानमा पनि समस्या देखिएको र समस्या समाधानका लागि प्रयास भइरहेको उनले बताए। विभिन्न रोगका कारण पाँचदेखि सात प्रतिशत धान उत्पादनमा कमी आउन सक्ने उनको अनुमान छ ।गोरखापत्र

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments