Online Bichar
शनिबार, मंसिर १३, २०८३ | Saturday, November 28, 2026

काठमाडौं,  १०  साउन  ।  नेपाल मानव अधिकार संगठनले निर्मला पन्तको बलात्कारपछिको हत्या प्रकरणमा समग्र अनुसन्धान प्रक्रिया प्रभावकारी हुन नसकेको आरोप लगाएको छ । संगठनले घट्ना भएको एक वर्षपछि पुनः उक्त घट्नासँग सम्बन्धित सबै अनुसन्धान प्रतिवेदनहरु सार्वजनिक गराई प्रतिवेदनहरुले शंका गरेका सबैमाथि प्रभावकारी अनुसन्धान गरी दोषीलाई कानूनी दायरामा ल्याउन सरकारसमक्ष माग गरेको छ । हत्याकाण्डको एक वर्ष बित्दा पनि अझैसम्म दोषी पत्ता लगाउन नसकेकोे भन्दै नेपाल मानवअधिकार संगठनले सरकारको व्यवहारप्रति आपत्ति जनाएको छ ।

राजधानीमा आज पत्रकार सम्मेलन गरेर उक्त संगठनले आपत्ति जनाएको हो । संगठनका अध्यक्ष इन्द्रप्रसाद अर्यालले सरकारले घटनाको एक वर्ष हुँदै गर्दा ‘निर्मलाजस्ता काण्ड हिजो पनि भएका थिए र भोलि पनि हुँदै गर्छन’ भन्ने गृहमन्त्रीको अभिव्यत्तिले देशमा कोहीपनि सुरक्षित नरहेको भनाई राखेका छन ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

संगठनले निर्मला पन्त बलात्कार हत्या घट्नाको एक वर्ष खै न्याय रु भन्ने शीर्षकमा एक विज्ञप्ती पनि जारी गरेको छ । संगठनले उक्त घट्नाले नेपालको प्रहरीको अनुशन्धान प्रक्रियाका कमजोरी र प्रहरीले गरेको श्रृंखलावद्ध गल्ती सतहमा आएकोपनि ठोकुवा गरेको छ ।

जारी विज्ञप्तिमा भनिएको छ, ‘निर्मला पन्तको हत्याको पर्सिपल्ट २०७५ साउन १२ गतेपछि नै चरणवद्ध आन्दोलनहरु सुरु भए । र, आन्दोलनकै क्रममा बालक सन्नी खुनाको प्रहरीको गोली लागेर निधन भयो । दिलिप विष्ट, चन्द्रदेव बडु, हेमन्ती भट्ट, लक्ष्मी मल्ल, जीवन घर्तीमगर, दिपक नेगी, विशाल चौधरी,प्रदिप रावललगायतलाई यातना दिइयो ।’

संगठनका अनुसार अहिलेसम्म उक्त आन्दोलनका क्रममा उमेश देउवा,अर्जुन भण्डारा, सुरेन्द्रबहादुर देउवालगायत २५ जनाभन्दा बढि घाइते भएका छन् । निर्दोषलाई यातना दिई अपराध स्वीकार गर्न लगाउने, जसलाई भेट्टायो उसैलाई शंका गर्ने र अपराध स्वीकार गर्न लगाउने रवैया प्रहरी प्रशासनको रहेको पनि संगठनको निश्कर्ष रहेको छ । संगठनका अध्यक्ष अर्यालले निर्मला प्रकरणमा सरकारी रवैया सदैव विवादास्पद रहन गएको आरोप लगाए ।

अर्यालले भने, ‘सबै प्रतिवेदनले निर्मलाको हत्या र बलात्कारलाई स्वीकार गरेपनि अपारदर्शी फौजदारी अनुसन्धान प्रक्रियाले बलात्कारी र हत्यारासम्म सरकार पुग्न सकेन् । फौजदारी न्यायिक अनुसन्धानको लागि अवाश्यक पारदर्शिता सरकारले प्रस्तुत गर्न सकेन ।’

त्यतिमात्रै होइन,उक्त संगठनले निर्मला पन्त प्रकरणमा नागरिक समाज एवं मानव अधिकार समूदाय विभक्त हुन पुगेको पनि संगठनले निश्कर्ष निकालेको छ । निर्मला पन्तकी आमालाई प्रभावमा पार्न प्रयास भएको पनि संगठनको आरोप छ । विज्ञप्तिमा भनिएको छ, ‘त्रासको वातावरण बनाई प्रमाण लोपमा जाहेरी दिने निर्मला पन्तको आमालाई दबाब दिई उक्त प्रमाण लोपसम्बन्धी मुद्दालाई कमजोर बनाउने चेष्टा गरिएको छ । राज्यले अन्याय विरुद्धका स्वरलाई दबाउने विभिन्न स्वरलाई दबाउने विभिन्न षड्यन्त्र गरेको पाइयो ।’

ओपेरा होटलको सिसिटीभी फुटेज रेकर्ड गरि रेकर्ड कब्जामा लिई अन्तर्राष्ट्रिय विज्ञहरु समेतको सहयोगमा त्यसमा रहेका रेकर्डलाई संकलन गर्न सक्नुपर्नेमा सरकारी पक्ष उदासिन रहन गएको पनि संगठनको आरोप छ ।

अहिले देशमा सेन्सरसिपको वातावरण रहेको भन्दै उनले आफ्नो मौलिक अधिकार र व्यक्तिगत स्वतन्त्रताको पटक–पटक हनन हुँदै आएको बताएका छन् । बलात्कारको शिकारी राज्यको उच्च तह सम्मकै भएका कारण अहिलेसम्म उक्त घट्नामा निर्दोषलाई दोषी देखाउने, न्याय माग्दा गोली चलाउने, यातना दिनेजस्ता नाटक गर्दे आएको उनले बताए ।

‘उपप्रधानमन्त्री सम्मले अब दोषी पत्ता लागिसक्यो, केही दिनमै सार्वजनिक गर्छौ भन्ने अभिव्यक्ति दिँदै हिँड्दा वास्तविक दोषीलाई लुकाइएको प्रष्ट हुन्छ ।’–उनले भने । नागरिकको मानवअधिकार, व्यक्तिगत स्वतन्त्रता, कानूनी शासन, संवैधानिक अधिकारजस्ता विषय देशबाट हराईसकेका पनि उनको टिप्पणी छ ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments