Online Bichar
शनिबार, मंसिर १३, २०८३ | Saturday, November 28, 2026

जनकपुर,  १०  साउन  ।  नेपाल आयल निगमले जनकपुर विमानस्थलमा समेत हवाई इन्धन भर्न मिल्ने व्यवस्था सुरू गरेको छ ।

निगमले जनकपुर विमानस्थलमा पनि हवाई इन्धन भर्न मिल्ने रिफ्युलिङ स्टेशन निर्माणको शिलान्यास शुक्रबार गरिएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव र निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले सो स्टेसनको शिलान्यास गरेका हुन् । यससँगै शुक्रबारदेखि नै विमानहरूलाई ट्यांकरबाट सीधै इन्धन उपलब्ध गराउन सुरु गरिएको निगमले जनाएको छ ।

निगमका अनुसार २ वटा रिफ्युलर (ट्यांकर) मार्फत विमानलाई जनकपुरमै इन्धन उपलब्ध गराउन थालिएको हो । यससँगै अब जनकपुरबाट जहाजहरुलाई इन्धन भर्नकै कागि काठमाडौँ जान नपर्ने भएको छ ।

जनकपुर विमानस्थलमा १६ हजार लिटर क्षमताको रिफ्युलिङ सेवा सुरू गरिएको हो । यसअघि इन्धन भर्न जहाज र हेलिकप्टर काठमाडौं जानुपर्ने बाध्यता थियो । इन्धन डिपो सञ्चालनमा आएसँगै प्रदेश २ मा विमानहरुलाई रात्रीकालीन उडान सेवा समेत सुरु गर्न सहज हुने जनाइएको छ ।

हाल देशभर रहेका विमानस्थलमध्ये काठमाडौं, विराटनगर, भैरहवा, सुर्खेत, पोखरा, नेपालगन्ज र धनगढीमा गरी ९ स्थानमा मात्र हवाई इन्धन डिपो सञ्चालनमा रहेको निगमले जनाएको छ ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments