काठ्माडौं, १० साउन । मनसुनपछिको विपद्का कारण मुलुकभर १११ जनाले ज्यान गुमाएका छन् । गृहमन्त्रालयको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रले बिहीबार सार्वजनिक गरेको विवरण अनुसार विपद्मा परेर ४० जना बेपत्ता भएका छन् भने ६७ घाइते भएका छन् ।
मृत्यु हुनेमा सबैभन्दा बढी गुल्मीमा १३ जना रहेका छन् । यस्तै बाढीबाट रौतहटमा १० जनाले ज्यान गुमाएको केन्द्रका प्रमुख वेदनिधि खनालले जानकारी दिए । उनका अनुसार अहिलेसम्म सबैभन्दा बढी बाढीबाट ५८ जनाले ज्यान गुमाएका छन् । पहिरोबाट ४५ र भारी वर्षाका कारण ८ जनाले ज्यान गुमाएका हुन् । अहिलेसम्म बाढीबाट १२८ घट्ना भयो भने पहिरोबाट २०८ घट्ना भएको केन्द्रले जनाएको छ ।
बाढीबाट ३१ जना तथा पहिरोमा परेर ९ जना बेपत्ता भएका छन् । अहिलेसम्म बाढीबाट रु. एक अर्ब भन्दा बढीको क्षति भएको छ । यस्तै पहिरोबाट रु. दुई करोड भन्दा बढीको क्षति भएको छ । बाढी, पहिरो र डुबानबाट ६४ जिल्ला प्रभावित भएको छ ।
सबैभन्दा बढी गुल्मीमा पहिरोका कारण १३ र रौतहटमा बाढी र डुबानका कारण १० जनाले ज्यान गुमाएका छन् । सिराहामा ७ र ललितपुरमा ६ जनाले ज्यान गुमाएका छन् । सिन्धुली, धनुषा, मकवानपुर र भोजपुरमा ५/५ तथा महोत्तरी, मोरङ, ओखलढुङ्गा, लमजुङ र डोल्पामा ४/४ जनाले ज्यान गुमाएका छन् । बाढी पहिरोमा परेर काठ्माडौं, पर्सा, खोटाङ, झापा, काभ्रेपलाञ्चोकमा ३/३, सुनसरी, धादिङ, दाङ र बारामा २/२ जनाको ज्यान गएको छ । उदयपुर, पाँचथर, सङ्खुवासभा, इलाम, सर्लाही, रामेछाप, सिन्धुपाल्चोक, पश्चिम नवलपरासी, बाग्लुङ, पाल्पा, कपिलवस्तु र रोल्पामा १/१ जनाको मृत्यु भएको केन्द्रले जनाएको छ ।
बाढी पहिरोमा परेर ४० जना बेपत्ता छन् । डोल्पामा ७ र लमजुङमा ६ जना अझै बेपत्ता छन् । सिन्धुलीमा ४, इलाम र मोरङमा ३/३, नुवाकोट, उदयपुर, महोत्तरी र सिन्धुपाल्चोकमा २/२ जना बेपत्ता छन् । झापा, सुनसरी, काठ्माडौं, धादिङ, रौतहट, पर्सा, तनहुँ, दाङ र कञ्चनपुरमा १/१ जना बेपत्ता भएको गृहमन्त्रालयले जनाएको छ ।
बाढी र पहिरोमा परेर ६७ जना घाइते भएका छन् । भारी वर्षाका कारण १७ जना घाइते भएका छन् । प्राप्त जानकारी अनुसार मकवानपुर र लमजुङमा ८/८ तथा काठ्माडौं, सिराहा र रौतहटमा ५/५ जना घाइते भएका छन् ।
मोरङ, सुनसरी, खोटाङ, सर्लाही, रामेछाप, भक्तपुर, धादिङ, पर्सा, स्याङ्जा, पाल्पा, सुर्खेत र जाजरकोटमा १/१ जना घाइते भएका छन् । झापा, भोजपुर, महोत्तरी, सिन्धुपाल्चोक, काभ्रे र गुल्मीमा २/२ जना तथा धनकुटा, उदयपुर, सिन्धुली र दोलखामा ३/३ जना घाइते भएका छन् ।रासस






