शान्ति सुब्बा
गौरादह, ५ साउन । साउन महिना लागेसँगै सौन्दर्य सामग्रीका पसलहरु भरिभराउ भएका छन् । विशेषगरि भगवान शिवजीलाई जल चढाउने महिनाको रुपमा चिनिने साउन महिनामा महिलाहरुले हरियो चुरा, पोते र मेहन्दीहरु लगाएर सजिने गरेका छन् । दक्षिण क्षेत्रमा रहेका गौरादह, ग्वालडुब्बा, स्कुलचौन, बैगुन्धुरा, चपरामारी, दामुना बजारहरुमा अन्य पसलहरुको तुलनामा कस्मेटिक पसलहरुमा भने महिलाहरुको भिंडभाड देखिन्छ ।
साउनको आगमनसँगै गौरादह बजारको हरेक पसलहरुमा हरियो चुरा, मेहंदी, हरियो पोते, पहेंलो पोते, हरियो पहेंलो सारी र कुर्थाहरु किन्नेको बाक्लो भिड बढ्दै गएको छ ।बजारमा यतिखेर व्यापारीलाई सामान बिक्री गर्न भ्याई नभ्याई छ ।
विवाहित महिला होस वा अविवाहित महिला या साना नानिहरु सबैको हातमा हरियो चुरा र मेहंदीले हात सजिएका छन् । कति महिलाहरुले रहरले हरियोचुरा मेहंदी लगाउने गरेका छन् भने कतिले देखासिकी गरेर लगाउने चलन नै भइसकेको छ । हरियो रङ्गलाई समृद्धिको प्रतीक पनि भनिने भएकाले हिन्दू महिलाले श्रीमानको समृद्धि होस भनेर खासगरी विवाहित महिलाले हरियो चुरा, पोते, हरियो लुगा र मेहन्दी लगाउने धार्मिक प्रचलन पनि रहिआएको छ ।

साउन महिना भरि धेरै महिलाहरुले प्रत्येक सोमबार भगवान शिवजीको पूजा गर्ने गरेकोले पनि यो महिनामा महिलाहरु हरियो चुरा, पोते, मेहन्दी र लुगामा सजिएर मन्दिर जाने गर्दछन् ।साउन महिनामा हरियो चुरा, हरियो पोते, मेहन्दी र हरियो साडीहरु एकले अर्कालाई उपहार पनि दिने चलन रहेको छ ।
बजारमा हरेक पसलहरुमा मात्र नभई फुटपाथमा राखिएको हरियो चुराका पसलहरुमा पनि उक्तिकै भिंडभाड हुने गरेको छ ।
गौरादह बजारमा पसल गर्दै आएका सुवेदी श्रृंगार गृहका पसल सञ्चालक कृष्ण सुवेदीका अनुसार विशेषगरि साउन महिनामा महिलाहरुले हरियो चुरा पोते र मेहंन्दीको प्रयोग गर्ने भएकाले अन्य समयको तुलनामा साउन महिनामा बढी त्यस्ता सामग्री बिक्रि हुने भएकाले आफुले सोही अनुसार सामग्रीहरु व्यवस्थापन गरेको बताए ।







