झगेन्द्र खड्का
गौरीगंज, ३ साउन । इलाका प्रशासन कार्यालय गौरीगञ्जले आर्थिक वर्ष ०७५/०७६ मा ७० लाख ८४ हजार राजस्व संकलन गरेको छ । गौरादह नगरपालिका र गौरीगञ्ज गाउँपालिका भित्र रहेका नागरिकहरुलाई सेवा दिने क्रममा राहदानी र संघ संस्था नविकरणबाट राजस्व संकलन भएको हो । आर्थिक वर्ष ०७५/०७६ मा १३ सय १९ जनाले राहदानी लिएकोमा ७० लाख १२ हजार ५ सय रुपैयाँ राजस्व उठेको छ भने संघ संस्था नविकरण र अन्य सेवाबाट ७१ हजार ५ सय रुपैयाँ राजस्व उठेको इलाका प्रशासन कार्यालय गौरीगञ्जका प्रमुख राजु दाहालले जानकारी गराए ।
जस अनुसार ३ सय ५ जनाले राहदानीका लागि द्रुत सेवा लिएका छन् । इलाका प्रशासन कार्यालय गौरीगञ्ज प्रमुख दाहालका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा राहदानी लिनेको संख्या घटेको बताउँछन् ।आर्थिक वर्ष ०७४/०७५ मा १५ सय ५२ जनाले राहदानी लिंदा ८३ लाख ५० हजार राजस्व संकलन भएकोमा आर्थिक वर्ष ०७५/०७६ मा १३ सय १९ जनाले राहदानी लिएका छन् । गत आर्थिक वर्षमा राहदानी लिनेको संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा २ सय ३३ जनाले कमी हुँदा १२ लाख ६६ हजार राजस्व घटेको छ ।
कार्यालयले आफ्नो सेवा क्षेत्रभित्र सेवा दिने क्रममा ३ हजार ६५ जनाले वंशजको आधारमा नागरिकता पाएका छन् । नागरिकता लिनेमा १४ सय ७ जना महिला र १६ सय ५८ जना पुरुष रहेका छन् । कार्यालयबाट ६८ जना महिलाले वैवाहिक अंगिकृत नागरिकता लिएको प्रमुख दाहाल बताउँछन् । गत आर्थिक वर्षमा पुरानो नागरिकता बिग्रेका वा हराएका १२ सय ७४ जनाले प्रतिलिपि लिएका छन् । जसअनुसार ५ सय ३५ जना महिला र ७ सय ३९ जना पुरुष रहेका छन् । कार्यालयबाट ४५ जनाले नाबालक परिचय पत्र लिएका छन् भने २ जनाले शान्ति सुरक्षा सम्बन्धि ठाडो उजुरी निवेदन दर्ता गराएका थिए । निवेदन माथि छलफल गराई दुवै पक्षलाई मिलापत्र गराएको प्रमुख दाहालले बताए ।
झापा जिल्लाको दक्षिण पश्चिम क्षेत्र गौरीगञ्जमा इलाका प्रशासन कार्यालय स्थापना भएपछि नागरिकहरुले छिटो छरितो र सहज रुपमा सेवा पाएका छन् । कार्यालयले आवश्यकता अनुसार बजार अनुगमन, आपतकालिन अवस्थामा विपद व्यवस्थापन, अन्य सरकारि कार्यालयहरु सँग समन्वय गर्दै परामर्श दिने, आदिवासी, जनजाति, मधिसे, दलित नागरिकहरुलाई शिफारिस दिने र दशगजा क्षेत्रमा रहेका सिमा स्तम्भहरुको निरिक्षण तथा अनुगमन गर्दै आएको छ ।






