काठमाडौं, ३ साउन । आजबाट सुरु भएको लोकसेवा आयोगका विभिन्न परीक्षामा कडाइ गरिएको छ । स्थानीय तहका लागि खोलेको विज्ञापनअनुसार सञ्चालन हुन थालेका कुनै पनि परीक्षामा परीक्षा केन्द्रमा झोला र मोबाइल समेत गेटभित्र लैजान नपाइने सूचना आयोगले जारी गरेको छ ।
विगतका परीक्षाहरुमा परीक्षा केन्द्रभित्र मात्रै हैन परीक्षा सिट भएको हलमा समेत झोला र मोबाइल जस्ता सामान लैजान तर छुट्टै राख्न मिल्थ्यो तर यसपटक भने झोला र मोबाइललगायत कुनै अतिरिक्त सामान परीक्षा केन्द्रको गेटभित्र लैजान निषेध गरिएको छ ।
आयोगले परीक्षालाई मर्यादित बनाउन परीक्षार्थीहरुले झोला, मोबाइल तथा अन्य इलेक्ट्रोनिक डिभाइसहरु परीक्षा केन्द्रको गेटबाट भित्र लैजान नदिइने व्यहोराको सूचना जारी गरेको हो ।
आयोगले ५१५ स्थानीय तहका लागि ९ हजार १६१ सिटमा खुला तथा समावेशी परीक्षाको विज्ञापन निकालेअनुसार परीक्षा आजबाट सुरु भएको हो । ती विभिन्न पदहरुका लागि ४ लाख ४१ हजार १४१ दरखास्त परेको आयोगले जनाएको छ ।






