डण्डिराज घिमिरे
गौरादह, ३ जेठ । झापाको गौरादह नगरपालिकाले आर्थिक बर्ष २०७६। ०७७ को नीति कार्यक्रम तथा बार्षिक बजेट अझै सार्वजनिक गरेको छैन ।
कार्यसम्पादनमा पटक–पटक बिबादमा आउने गरेको यो नगरपालिका फेरि पनि सूचना सञ्चार मैत्री बन्नबाट चुकेको छ । गौरादह नगरपालिकाको चौथो नगरसभा नीति कार्यक्रम र बजेटको बारेमा राजनीतिक दल, नागरिक समाज, पत्रकार जगत तथा गौरादहबासी नागरिक हाल सम्म पनि बेखबर छन् ।
नगरवासीलाई सुसूचित गर्न अतिथिहरु बोलाएर सार्बजिनिकरुपमा गरिने नगरसभाको उद्घाटनशत्र समेत यो पटक नगरसभा सदस्य बीचबाट मात्र गरियो ।
नागरिककके मौलिक हक अन्तर्गत सूचनाको हकबाट गौरादहका नागरिक स्वयं स्थानीय सरकारबाट बञ्चित हुनुपरेको छ ।
संघिय सरकारले परिपत्र नै जारी गरी असार १० गते भित्र सबै स्थानीय तहलाई बजेट सार्वजनिक गर्न निर्देशन गरे पनि गौरादह नगरपालिकाले साउन ३ गते बितिसक्दा समेत पनि बजेट सार्बजनिक गर्न आनाकानी गरिरहेको छ ।
सामाजिक संजालमा जनप्रतिनिधिले नगरसभा सुरु भयो र सम्पन्न भयो भनेर फोटो सार्बजनिक गरेकोलाई आधार मान्ने हो भनेपनि असार १० गतेबाट सुरु भएको नगरसभा असार ३१ सम्म चलेको थियो ।
नगरसभाले पास गरेको नीति कार्यक्रम र बजेटको प्रतिलिपि नगरप्रमुख रोहित कुमार शाहसंग अनलाइन विचारका संपादकले माग्दा नीति कार्यक्रमको संसोधन तयार भएर आउन बाँकि नै रहेको बताए । उता नगरसभाले पास गरेको वडास्तरीय बजेट भनेर केही वार्ड अध्यक्षहरुले फेसबुकमा धमाधम बजेट सार्बजनिक गरेका छन् । तर नगरपालिकाले आधिकारिक रुपमा हालसम्म पनि बजेट सार्बजनक गरेको छैन् ।
नगरपालिका स्रोतका अनुसार असार ३१ गतेसम्म पनि नगरपालिकामा बजेटकै बाँडफाँड चलिरहेको थियो । वडास्तरका बजेटका शिर्षका बारेमा अन्तिमसमय सम्म टुङ्गो नलागेको बताइएको छ ।
बजेट पारित गर्न असार १० गते नगरसभा शुरु भए पनि उक्त नगरसभाको अन्त्य कहिले र कस्तो बजेट पारित गरेर सम्पन्न भयो त्यो अहिलेसम्म नगरबासीलाई कुनै जानकारी नहुनुले नगरपालिका अपारदर्शी भएको नगरका एक राजनितक अगुवाले बताए । नगर कार्यपालिकाका कुनैपनि विषयगत समितिहरुले बजेट मस्यौदाका सन्दर्भमा सरोकारवाला पक्षहरुसंग छलफल तथा अन्तरक्रिय समेत नगरेको स्थानीयहरुको गुनासो छ ।
नगरका जनप्रतिनिधिहरुसंग बेग्ला बेग्लै भेटेर र फोन सम्पर्क समेत गरेर बजेटका बारेमा जानकारी लिंदा पछि थाहा हुने जवाफ फर्काउने गरेका छन । देश भरका स्थानीय तहले नयाँ आर्थिक बर्षको बजेट सार्वजनिक गरिरहेका बेला गौरादहनपाको बजेटका बारेमा भने अझै अन्योल रहेको स्रोतको दाबी छ ।
यसै बिच अबको दुई दिन भित्र बजेट सार्बजनिक गरिने गौरादह नगरपालिका वार्ड नम्मर १ का अध्यक्ष तथा नगर प्रबक्ता नगेन्द्र भण्डारीले सञ्चारकर्मीहरुसंग बताए ।
गौरादह नगरपालिकाले विगतका आर्थिक बर्षहरुमा पनि नीति कार्यक्रम तथा बजेट सार्बजनिक गर्न कन्जुस्याईं गर्नेगरेको घटनक्रमले देखाएको छ । प्रथम नगरसभाको बजेट पुस्तिका सार्बजनिक नै भएन भने दोस्रो नगरसभाले पास गरेको बजेटको चालु खर्च शीर्षकको बजेट बिबादित भएपछि नगरका बासिन्दाले माग गरेपछि मात्र बजेट पुस्तिका सार्बजनिक भएको थियो ।






