Online Bichar
शनिबार, जेठ ०५, २०८१ | Saturday, May 18, 2024

काठमाडौं,  ३०  असार  ।  साउन एक गतेदेखि अनलाइनमा आधारित सूचना प्रणालीमा विवरण नभरी सामान ओसारपसार गर्न नपाइने भएको छ ।

प्रणालीमा विवरण नै नभरी सामान ओसार पसार गरे अवैध ठहरी सोही अनुसारको कारबाही हुने राजस्व अनुसन्धान विभागले जनाएको छ ।

भेइकल कन्साइनमेन्ट ट्रयाकिङ सिस्टमले कर छली नियन्त्रण हुने विभागको विश्वास छ । यो प्रणाली साउन एक गतेदेखि सञ्चालनमा आउनेछ ।

यद्यपि अहिलेपनि परीक्षणको रुपमा सञ्चालन भने भइरहेको छ । यो प्रणाली अन्तर्गत सामान ढुवानी गर्नुअघि नै विभागको अनलाइन प्रणालीमा सम्पूर्ण विवरण राख्नुपर्नेछ ।

प्रणालीमा सामान खरिदकर्ता व्यवसायी, बिक्रेता, ट्रान्सपोर्ट कम्पनी, भन्सार एजेन्ट लगायतले निशुल्क रुपमा विवरण राख्न सक्नेछन् । प्रणालीमा सवारी साधनमा भएको सामानको विवरण, तौल, कुल मूल्य, गन्तव्य, चालकको नाम, गाडी नम्बर लगायतको विवरण भर्नुपर्नेछ । त्यसो नगरी सामान ओसारपसार गरेको पाइए विभागले राजस्व चुहावटमा संलग्न भएको आशंकामा अनुसन्धान गर्न सक्नेछन् ।

व्यवसयीले प्रणालीमा विवरण अपडेट गरेलगत्तै विभागमा सम्पूर्ण जानकारी प्राप्त हुनेछ । विभागका अनुसार कुनै गाडीमा लोड भएको सामानको सम्पूर्ण भन्सार रकम तिरेको छ वा छैन, सामान कसरी ढुवानी भयो भन्ने जस्ता जानकारी प्रणालीले दिने भएकाले कर छलीको अनुसन्धान गर्न सहज हुनेछ ।

२०७१ मै मालबाहक गाडी र सामान ट्रयाकिङ प्रणाली ल्याउने भनेपनि पाँच वर्षसम्म प्रणाली विकसरी हुन नसक्दा प्रयोगमा आउन सकेन । अब भने आगामी साउन एक गतेदेखिनै लागू हुनेछ ।

 

तपाईको प्रतिक्रिया