इनरुवा, २८ असार । लगातारको वर्षासँगै सप्तकोशी नदीमा पानीको बहाव बढ्ने क्रम जारी छ । पूर्वी पहाडी भेगका जिल्लाहरुमा जारी निरन्तरको वर्षासँगै हिजोबाट बढ्न थालेको कोशी नदीको जलस्तरमा आज थप वृद्धि भएको छ ।
पछिल्लो मापन अनुसार सप्तकोशी नदीमा पानीको बहाव २ लाख ७४ हजार ६५ क्युसेक प्रतिसेकेण्ड पुगेको छ । कोशी ब्यारेजका ३५ ढोका खोलिएका छन् । चतरा स्थित बाढी मापन यन्त्रले नदीको जलस्तरले सर्तकता तह पार गरी पानी बढ्दो क्रममा रहेको देखाएकाले समेत कोशी ब्यारेजमा पानीको बहाव थप बढ्ने सम्भावना रहेको छ ।
यतिबेला चतरामा पानीको सतह ६ दशमलव ३० मिटरमा पुगेको छ । सतर्कता तह बिहानै नाघेको बहाव केही घण्टा अघि ओरालो लागेको भएपनि पछिल्लो मापन अनुसार पूर्ण बढेर खतरा तहमा पुगेको छ ।
यसअघि चतरामा ६ दशमलव १३ मिटरको उच्च जलस्तर मापन गरिएकोमा पछिल्लो बहाव त्यो भन्दा पनि बढी बिन्दुमा पुगेको छ । चतराको मापनमा ६ दशमलव ८ बिन्दुमा नदीको जलस्तर पुगे पूर्ण खतरा मानिन्छ ।न्यूज२४






