Online Bichar
शनिबार, मंसिर १३, २०८३ | Saturday, November 28, 2026

झापा,  २७  असार  ।  तीन दिन देखिको लगातार वर्षाको कारण झापाका केही स्थान डुबानमा परेका छन् भने अधिकांश क्षेत्र डुबान हुने अवस्थामा पुगेका छन् । बुधवारबाट परेको अविरल वर्षाका कारण ग्रामीण तथा शहरी क्षेत्रमा समेत डुबान हुन थालेको छ ।

स्थानीय रतुवा खोलाले बाँध भत्काएर बस्ती प्रवेश गरे पछि गौरादह नगरपालिका वडा नम्बर ५ र ६ का स्थानीय विस्थापित भएको मेयर रोहित कुमार शाहले जानकारी दिनुभयो । उहाँले बाढीका कारण मानवीय क्षति नभए पनि पशुचौपाय र धानवालीमा असर पुगेको जानकारी दिनुभयो ।

त्यसै गरी झापाको दक्षिणी क्षेत्रका केचना, घेराबारी, गौरीगञ्जलागायका ठाउँमा हल्का डुबान भए पनि कुनै क्षति नभएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी महेन्द्र कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

अहिलेसम्म बाढी गाउँमा नपसे पनि पस्ने अवस्थामा पुगेको रेडक्रस झापाका अध्यक्ष लोकराज ढकालले बताउनुभयो । कनकाई नगरपालिका–६ को एक घरमा पानी पसेको ढकालले जानकारी दिनुभयो ।

लगातारको वर्षपछि स्थानीय नदीहरूमा बाढी आएको छ,भने नदीले कटान सुरु गरेको छ । मेची, निन्दा, हँडिया, टिमाई, बिरिङ, कनकाई र रतुवा लगायत खोलामा आएको बाढीले कटान तीव्र बनाएको स्थानीयले बताए । बिरिङ खोला र कनकाई नदी फुटेर बस्तीमा पसेमा ठुलो मानवीय क्षति हुने भन्दै स्थानीय त्रसित बनेका छन् ।न्यूज२४

 

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments