Online Bichar
शनिबार, मंसिर १३, २०८३ | Saturday, November 28, 2026

बेनी,  २६  असार  ।  बेनी-जोमसोम सडकअन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका १ र अन्नपूर्ण गाउँपालिका ७ को सिमानास्थित कालीगण्डकी नदीमाथि रहेको बेलिब्रिज भत्कने अवस्थामा छ। कालीगण्डकीको कटानका कारण अन्नपूर्ण गाउँपालिका र मुस्ताङ जोड्ने सडकअन्तर्गत पर्ने तिप्ल्याङको बेलिब्रिज जोखिममा परेको हो। कालीगण्डकीले महभीर तर्फको पुलको बिम कटान गरेर भत्काउन थालेको छ।

मेसिनरी पर्खालको बिमको छेउमा सडक भाँसिएको छ। पक्‍की मोटरेबल पुल निर्माणका क्रममा गराइएको कालीगण्डकी डाइभर्सनका कारण बेलिब्रिज कटानको चपेटामा परेको हो। बेनी-जोमसोम-कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिङ शेरचनले कटानका कारण पुलको बिम जुनसुकै बेला भत्किने खतरा भएको बताए। पुलमा जाने सडक साँघुरिएकाले दुर्घटनाको जोखिम बढेको छ, उनले भने।

सीमा प्रहरी चौकी भुरुङ तातोपानीको प्रहरी टोलीले बुधबार दिउँसो बेलिब्रिजको निरिक्षण गरेर वरपर खतराको चिन्ह राखेको जनाएको छ। चौकीका सई ढकबहादुर हमालले कटानका कारण सडक साँघुरिएकाले ठूला र धेरै लोड भएका सवारी वारपार गर्न सावधानी अपनाउन खतराको चिन्ह राखिएको बताए।

पुलको ठेकेदार कम्पनीका व्यवस्थापक उमेर गर्तौलाले कटान रोक्न ठूला ढुंगा राख्न लागिएको बताए। बेलिब्रिजबाट एक्साभेटर तार्न नसकिएपछि अर्को एक्साभेटर मगाएर काम गर्नुपर्ने भएको उनको भनाई छ ।

यसैबीच बेनी-जोमसोम सडक अन्तरगत गलेश्वरस्थित रघुगंगा नदीमाथिको बेलिब्रिज र बस्तीमा कटान नियन्त्रणको काम सुरु भएको छ। पुलको ठेकेदार कम्पनी गजुरमुखी निर्माण सेवाले खोला डाइभर्सन र किनारमा ग्यावीयन पर्खाल निर्माण सुरु गरेको हो।अन्नपूर्णपोष्ट

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments