गौरादह, २४ असार । गौरादहमा ज्येष्ठ नागरिकहरुलाई सम्मान गरिएको छ । एन.आई.सि.एशिया बैंक गौरादहले आज एक कार्यक्रमको अवसर पारेर ज्येष्ठ नागरिकहरुलाई सम्मान गरेको हो । दुर्गा मन्दिरको प्राङ्गढमा आयोजना गरिएको कार्यक्रममा गौरादह नगरपालिका भित्रका ११० जना वृद्ध वृद्धाहरुलाई फलफुल र जुस दिई सम्मान गरिएको थियो । कार्यक्रममा ज्येष्ठ नागरिकहरुलाई एन.आई.सि.एशियाको क्यालेण्डर पनि वितरण गरिएको थियो ।
आफ्नो बैंकले दिदै आएका सेवा सुविधा र खाताहरुको बारेमा जानकारी दिनुका साथै वृद्ध वृद्धा भएका माता पितालाई सम्मान गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको रिलेसनसिप म्यानेजर विदुर दाहालले बताउनुभयो ।
सोही कार्यक्रमको अवसर पारेर एन.आई.सि.एशिया बैक गौरादहको आयोजनामा ज्येष्ठ नागरिकहरुको स्वास्थ्य जाँचको कार्यक्रम पनि सम्पन्न भएको छ । उक्त स्वास्थ्य जाँचमा ज्येष्ठ नागरिकहरुको ब्लड प्रेशर तथा सामान्य जाँच गरिएको थियो । ११० जना ज्येष्ठ नागरिकहरुले स्वास्थ्य लाभ लिएका थिए ।

लाइफलाइन दमकबाट आउनुभएका स्वास्थ्यकर्मीले स्वास्थ्य जाँच गरेका थिए । एन.आई.सि.एशिया बैंकका ब्रान्च म्यानेजर भानुभक्त आचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा एन.आई.सि.एशिया क्षेत्रिय प्रबन्धक दिपक थापा प्रमुख अतिथि रहनुभएको थियो ।






