एजेन्सी । वाशिङटनका लागि बेलायती राजदूत रहेका सर किम डार्कप्रति संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प आक्रामक बनेका छन् । ट्वीटमार्फत् प्रतिक्रिया जनाउँदै ट्रम्पले अब आफुहरु सर किम डार्कसँग व्यवहार नगर्ने बताएका छन् ।
सर किम डार्कको इमेल आइतबार लिक भएर बाहिरीएको थियो । सो इमेलमा सर किम डार्कले ‘ट्रम्प प्रशासन निष्प्रभावी र अक्षम’ रहेको आरोप लगाएको देखिएको थियो । त्यसपछि आक्रोशित बनेका ट्रम्पले अहिले बेलायती प्रधानमन्त्री टरिजा मेकोसमेत आलोचना गरेका छन् ।
उनले बेलायतले नयाँ प्रधानमन्त्री पाउनु सुखद रहेको भन्दै ती राजदूतलाई समर्थन गरेकोमा मेप्रति पनि आक्रोश पोखेका हुन् । ट्रम्पले मेले ब्रेक्जिट मामिला भद्रगोल बनाएको समेत आरोप लगाएका छन् । श्रृखलावद्ध ट्विट गर्दै प्रतिक्रया दिइरहेका ट्रम्पले राजदुतलाई बेलायतमा ‘राम्रोसँग नपालिएको’ भनेका छन् ।
यो विषयले चर्को रुप लिएपछि अब बेलायती राजदुत फेरिन सक्ने देखिएको छ । यद्यपी सर सम्मानित व्यक्ति किम बेलायती प्रधानमन्त्री मेको राजीनामा भइसकेका कारण आफै पनि राजीनामा दिन सक्ने बीबीसीका एक कूटनीतिक संवाददाताले जनाएका छन् ।
‘सर किम डार्कसँग व्यवहार नगर्ने भनेर ट्रम्पले खासमा ब्रिटिश राजदूत स्वीकार्य व्यक्ति नभएको बताइरहेका छन्। औपचारिक कानुनी प्रक्रियामार्फत् कुनै पनि देशले राजदूतलाई उसको मुलुक फिर्ता पठाउन खोज्नु हो।’ संवाददाता जेम्स लेन्डेलले उल्लेख गरेका छन् ।
यदि ट्रम्पले ‘हामी’ भन्ने शब्द आफू र आफ्नो समग्र प्रशासनका लागि प्रयोग गरेका हुन् र अब उनीहरूले सर किमसँग व्यवहार गर्ने छैनन् भन्न खोजेका हुन् भने ब्रिटेनले द्रुत प्रक्रियामार्फत् आफ्ना राजदूतलाई बिदा गर्नुपर्ने हुन्छ।
तर बेलायतका विदेश सचिव जेरेमी हंटले ‘ट्रम्प प्रशासन निष्प्रभावी र अक्षम’ रहेको भनिएको कुरा राजदुतको आफ्नो भ्यु भएको भन्दै त्यसलाई बेलायत सरकारले भनेको नठान्न भनेका छन् ।






