Online Bichar
सोमबार, आषाढ २२, २०८३ | Monday, July 6, 2026

गौरादह,  १५  असार  ।   वर्षायाममा किसानहरुले लगाउने धानबाली असार १५ गते कृषिमा आबद्ध संस्थाहरुले धान दिवस मनाई रोपाईं शुरुवात गरेका छन् । वर्षात शुरु भएसँगै किसानहरुले आफ्नो तरिकाले धान रोपाईं गरेपनि कृषि सहकारी संस्थाहरुले धान दिवस मनाई सामूहिक रुपमा रोपाईं शुरुवात गरेका हुन् ।

संस्थाहरुले प्रत्येक वर्ष मनाउँदै आएको धान दिवसलाई यस वर्ष १६ औं राष्ट्रिय धान दिवसको रुपमा गौरादह १ मा रहेको उद्यमी कृषि सहकारी संस्था, गौरादह साना किसान महिला कृषि सहकारी संस्था, गौरादह साना किसान अर्गानिक सहकारी खेती र गौरादह आई.पि.एम कृषि संजालले धान दिवस मनाएका हुन् । संस्थाहरुले किसानको जग्गा लिजमा लिई सामूहिक रुपमा दही चिउरा खाई रोपाईं गरेका छन् । गौरादह १ मा रहेको उद्यमी कृषि सहकारी संस्थाले २ बिगाहा १० धुर जग्गा १० वर्षका लागि लिजमा लिई रोपाईं गरेको हो ।

सोही अवसरमा गौरादह नगरपालिका वडा नंं. १ को वडा कार्यालयले संंस्थामा आबद्ध शेयर सदस्यहरुको आय आर्जन वृद्धि गर्न बयर जातको बिउको बोका र १५ वटा बाख्रा वितरण गरेको छ । वडा नं. १ का वडाध्यक्ष नगेन्द्र भण्डारीले संस्थाका अध्यक्ष भूपध्वज लुईंटेललाई हस्तान्तरण गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कुमार कार्कीले कार्यक्रमको उदघाटन गर्दै कृषि प्रधान देश भएकाले किसानहरुलाई कृषि क्षेत्रमा राहत दिन आवश्यक रहेको बताए । कृषिलाई आधुनिकिकरण गर्न संस्थाहरुले अवलम्बन गरेको सामूहिक खेती बाट राज्यलाई समेत सहज हुने धारणा राखे ।

गौरादह साना किसान महिला कृषि सहकारी संस्था र गौरादह साना किसान अर्गानिक सहकारी खेती समूहले संयुक्त रुपमा गौरादह १ को गुरुङ्ग चोकमा धान दिवस मनाएका छन् । संस्थाले अर्गानिक खेत गर्ने उद्देश्यले ३५ बिगाहा जग्गा २५ वर्षको लागी लिजमा लिएको थियो । २८७ समूह रहेको संस्थाले धान दिवसको दिन १ बिगाहामा धान रोपाईं गरेको संस्थाकी अध्यक्ष तुलसा भुजेलले जानकारी गराईन् । कार्यक्रमका प्रमुख अतिथि गौरादह नगरपालिकाका मेयर रोहित कुमार शाहले किसानहरुलाई सहज तरिका बाट खेती गर्न सामूहिक खेती प्रणाली आवश्यक रहेको धारणा राखे ।

त्यसअवसरमा कृषि उपकरण पशुपालन साना उद्योग समितिका अध्यक्ष भिम बहादुर कुँवर, वस्तु तथा सेवा उपभोक्ता महासंघ केन्द्रिय सदस्य राम बहादुर राई, अर्गानिक खेतीका किसान मोती प्रसाद निरौला लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

गौरादह–४ को पाटागाडामा रहेको आई.पि.एम कृषि सञ्जालले धान दिवस मनाई रोपाईं गरेको छ । सञ्जालले ६ कठ्ठा जग्गामा बेठी लगाई धान रोपेको हो । सञ्जालका अध्यक्ष देवि प्रसाद ताजपुरियाको सभापतित्वमा सम्पन्न कार्यक्रममा गौरादह नगर प्रमुख रोहित कुमार शाह प्रमुख अतिथि रहेका थिए । त्यसअवसरमा वडा नंं. ४ का वडाध्यक्ष मणिन्द्र कार्की, संस्थाकी उपाध्यक्ष यसोदा दाहाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments