गौरादह, २५ बैशाख । अस्थायी ट्राफीक प्रहरी पोष्ट गौरीगंजले सडक दुर्घटना नियन्त्रणका लागी विद्यार्थीहरुलाई सचेतना मूलक स्कुलीङ् कार्यक्रम शुरु गरेको छ । सडकमा हुने दुर्घटनाबाट बच्न र धनजनको क्षति कम गर्न विद्यालय स्तरबाट सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न शुरु गरिएको अस्थायी ट्राफीक प्रहरी पोष्ट गौरीगंजका प्रमुख नारायण प्रसाद भट्टराईले बताए ।
सवारी साधन बढी मात्रामा ओहोर दोहर गर्ने सडकमा सवारी चालक र पैदल यात्रीहरु चनाखो भई ट्राफीक नियम पालना गरेमा दुर्घटनाको जोखीम घटाउन सकिने ट्राफीक प्रमुख भट्टराईले बताए । गौरादह नगरपालिका ८ मा रहेको अरुणोदय आधारभुत विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई सडक दुर्घटनाबाट बच्ने उपायका बारेमा प्रशिक्षण दिएका थिए ।
ट्राफीक प्रहरी प्रमुखले वृत्तचित्र प्रदर्शन गरि सडक र फुटपाथको परिचय, फुटपाथमा हिंड्दा र बाटो काट्दा ध्यान दिनुपर्ने कुराहरु, ट्राफीक संकेत र चिन्हको बारेमा जानकारी, सवारी साधनहरुको परीचय, सवारी साधन चल्दा र रोकिंदा सडक पार गर्ने तरिका, जेब्रा क्रसिङको प्रयोग, सडकमा हिंड्ने तरिका, सवारी साधन पार्किङ्ग गर्ने स्थान, दुर्घटना हुन सक्ने सम्भावना, मोटरसाइकलमा हेल्मेटको आवश्यकता र प्रयोग का बारेमा प्रशिक्षण दिएका थिए । विद्यालयका प्रधानाध्यापक नरबहादुर कार्कीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।






