Online Bichar
शुक्रबार, मंसिर १२, २०८३ | Friday, November 27, 2026

मोरङ,  २३  वैशाख  ।  प्रदेश १ को राजधानीका संरचना विराटनगर, इटहरी र सुन्दरहरैंचामा राख्ने प्रस्ताव आइतबार प्रदेशसभामा दर्त्ता भएको विरोधमा सोमबार बिहानैदेखि विराटनगर बन्द गरी स्थानीयवासी आन्दोलनमा उत्रेका छन् ।

विराटनगर महानगरवासीले प्रदेश १ को राजधानीको सम्पूर्ण संरचना विराटनगरमा राख्नुपर्ने माग गरी अनिश्चितकालिन बन्दको आव्हान गरेका हुन् । बन्दले जनजीवन प्रभावित भएको छ । यतायातका साधन चल्न सकेका छैनन् । शिक्षण संस्थाहरूले आकस्मिक रूपमा बिदाको घोषणा गरेका छन् । प्रदेश सरकारका मन्त्रालयहरुलगायतका सरकारी कार्यालयमा कामकाज सञ्चालन हुन सकेको छैन ।

प्रदेशसभामा आइतबार दर्ता भएको राजधानी बारेको प्रस्तावमा राजधानी विराटनगर रहने भनिएपनि व्यवस्थापिका, कार्यपालिका विराट क्षेत्र अन्तर्गतका इटहरी, सुन्दरहरैंचा लगायत स्थानमा राख्ने भनिएको थियो ।

त्यसैले विराटनगरबाट राजधानी अन्यत्र लान खोजिएको भन्दै दबाब दिन बन्द आव्हान गरिएको हो । महानगरपालिकाको अगुवाइमा आइतबार अबेर रातिसम्म बसेको सर्वदलीय बैठकले दबाबमूलक आन्दोलन गर्ने निर्णय गरेको थियो ।

आन्दोलनकारीले संसदहरुलाई प्रदेशसभाभित्र प्रवेश गर्न नदिने तयारीका साथ अस्पतालचोक र देवकोटाचोकमा आन्दोलन सशक्त बनाएका छन् ।

प्रदेशसभालगायतका सरकारी कार्यालयहरुलगायत विराटनगरभरी कुनै किसिमको अप्रिय घटना हुन नदिन व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ । बैठकले डा. भेषप्रसाद धमालको नेतृत्वमा २ सय सदस्यीय दबाब समूह गठन गरेको छ । दबाब समूहमा नेकपा बाहेकका सबै दलको प्रतिनिधित्व रहेको छ ।

प्रदेशसभामा हिजो राजधानीका लागि चारवटा प्रस्ताव दर्ता भएका थिए । कांग्रेसको अगुवाइमा विराटनगरलाई नै राजधानी तोकिनुपर्ने प्रस्ताव दर्ता भएको छ । यसैगरी धनकुटाका सांसदहरूले राजधानी धनकुटा बनाउनुपर्ने भन्दै दुई छुट्टाछुट्टै प्रस्ताव संसदमा दर्ता गराएका छन् ।कान्तिपुर

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments