Online Bichar
शनिबार, मंसिर १३, २०८३ | Saturday, November 28, 2026

काठमाडौं, १२ मंसिर २०८३ । सरकारले विपद् प्रभावित परिवारहरूलाई प्रदान गरिने क्षतिपूर्ति तथा राहत रकम दोब्बर बनाउने निर्णय गरेको छ ।

शनिबार ललितपुरमा आयोजित विपद् पूर्वतयारी सञ्जाल नेपाल (डिपीनेट–नेपाल) को वार्षिक साधारणसभाको अवसरमा आयोजित छलफल कार्यक्रममा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए) का प्रमुख डा. धर्म उप्रेतीले यसबारे जानकारी दिएका हुन् ।

शुक्रबार गृहमन्त्रीको अध्यक्षतामा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी समितिको बैठकले विपद् प्रभावितहरूका लागि क्षतिपूर्तिसम्बन्धी निर्देशिका (गाइडलाइन) परिमार्जन गर्दै राहत रकम बढाएको उप्रेतीले बताए ।

उनका अनुसार यसअघि प्रतिपरिवार मधेसमा दुई लाख, पहाडमा तीन लाख र हिमाली क्षेत्रमा चार लाख रुपैयाँ क्षतिपूर्ति दिने व्यवस्था रहेकोमा अब त्यसलाई दोब्बर बनाइएको छ ।

भोटेकोशी बाढीपीडितलाई ऋणमा सहुलियत र म्याद थप

प्राधिकरणका प्रमुख डा. उप्रेतीले भोटेकोशी बाढी प्रभावितहरूका लागि ऋणमा विशेष सहुलियत दिँदै विद्यमान ऋणको पुनर्संरचना गरी एक वर्षसम्म म्याद थप गरिएको जानकारी दिए ।

सरकारको राहत वितरण मोडालिटी ‘होल अफ सोसाइटी अप्रोच’ (सम्पूर्ण समाजको सहभागिता) मा आधारित रहेको स्पष्ट पार्दै उनले पीडितले पाउने सहयोग सरकार वा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (एनजीओरआईएनजीओ) जसले उपलब्ध गराए पनि त्यसलाई एकरूपताका साथ एउटै मापदण्डभित्र मान्नुपर्ने बताए ।

राहत वितरणमा केही ढिलाइ भए पनि पीडितसमक्ष सहयोग पुर्‍याइएको र यसमा पूर्ण पारदर्शिता कायम गरिएको उनको दाबी थियो ।

तपाईको प्रतिक्रिया