Online Bichar
शुक्रबार, मंसिर १२, २०८३ | Friday, November 27, 2026

काठमाडौं, ११ मंसिर २०८३ । परराष्ट्र मन्त्रालयले नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी) ले तयार पारेको प्रतिवेदन नेपाल र भारत दुवै देशका प्रधानमन्त्री समक्ष पेस हुने अपेक्षा गरिएको जनाएको छ ।

परराष्ट्र मन्त्रालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले उक्त कुरा बताएका हुन् ।“ईपीजी प्रतिवेदन दुवै प्रधानमन्त्री समक्ष पेस गर्न समय प्राप्त हुनेछ भन्ने हाम्रो अपेक्षा रहेको छ,” परराष्ट्र प्रवक्ता क्षेत्रीले भने ।

भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिस्रीले गत सोमबार नयाँ दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा ईपीजी पुरानो भएको र यसको औचित्य सकिएको भन्ने अभिव्यक्ति दिएका थिए । त्यसपछि परराष्ट्रले शुक्रबार मुख खोलेको हो ।“ईपीजी गठन हुनुका जुन मूलभूत उद्देश्यहरू थिए ती द्विपक्षीय विषयहरूलाई दुवै पक्षले संयुक्त रूपमा ती सम्बन्धी कामलाई निरन्तरता दिनुपर्छ भन्ने हाम्रो विश्वास रहिआएको छ,” परराष्ट्र प्रवक्ता क्षेत्रीले भने ।

ईपीजीसम्बन्धी विषयलाई परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्रीको भारत भ्रमणबाट फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्पष्ट पारेको उनले जनाए ।

२०७५ सालमा तयार भएको ईपीजी प्रतिवेदन भारतका प्रधानमन्त्रीले बुझ्न मानेका छैनन् । लामो समयसम्म प्रतिवेदन बुझ्न नमानेपछि ईपीजीमा नेपालतर्फका संयोजक भेषबहादुर थापाले २०८३ जेठ २१ गते ईपीजी प्रतिवेदन राखेको दराजको साँचो परराष्ट्रमन्त्री खनाललाई बुझाएका थिए ।

ईपीजी प्रतिवेदन तयार पार्दा प्रतिवेदन पहिला भारतका प्रधानमन्त्रीलाई बुझाउने र त्यसपछि नेपालका प्रधानमन्त्रीलाई बुझाउने सहमति भएको थियो। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रतिवेदन बुझ्न नमान्दा अहिले यो प्रतिवेदन दराजमा थन्किएर बसेको छ ।

तपाईको प्रतिक्रिया