Online Bichar
शुक्रबार, मंसिर १२, २०८३ | Friday, November 27, 2026

काठमाडौं, ११ मंसिर २०८३ । नेपालले रासायनिक हतियारमुक्त विश्व निर्माण गर्ने र रासायनिक हतियार निषेध महासन्धिका उद्देश्य तथा सिद्धान्त कार्यान्वयन गर्ने प्रतिबद्धता दोहोर्‍याएको छ ।

नेदरल्यान्ड्सको हेगमा जारी रासायनिक हतियार निषेध संगठन ९ओपीसीडब्ल्यू० को सदस्य राष्ट्रहरूको सम्मेलनको ३१औँ अधिवेशनमा बेनेलक्स मुलुकका लागि नेपाली राजदूत तथा ओपीसीडब्ल्यूका लागि नेपालकी स्थायी प्रतिनिधि सेवा लम्सालले यस्तो प्रतिबद्धता व्यक्त गरेकी हुन् ।

उनले निरस्त्रीकरण र अप्रसारलाई नेपालको परराष्ट्र नीतिका आधारभूत स्तम्भका रूपमा उल्लेख गर्दै विश्व शान्ति, शान्तिपूर्ण सहअस्तित्व र अन्तरराष्ट्रिय सहयोगका सिद्धान्तप्रति नेपालको प्रतिबद्धता दोहोर्‍याएको ब्रसेल्सस्थित नेपाली दूतावासले जनाएको छ ।

उनले कुनै पनि परिस्थितिमा रासायनिक हतियारको विकास, उत्पादन, प्राप्ति, भण्डारण, प्रसार तथा प्रयोगको विपक्षमा नेपाल रहेको बताइन् । राजदूत लम्सालले अतिकम विकसित मुलुकमा संस्थागत, प्राविधिक तथा जनशक्ति क्षमता अभिवृद्धि गर्न रासायनिक हतियार निषेध संगठनको निरन्तर सहयोग, तालिम तथा क्षमता विकास आवश्यक भएको बताइन् ।

कृत्रिम बौद्धिकता र जैविक प्रविधिलगायत विज्ञान तथा प्रविधिमा भइरहेका नयाँ विकासले निम्त्याउन सक्ने चुनौती सम्बोधन गर्न निरन्तर संवाद र सहकार्य आवश्यक रहेकामा नेपालले जोड दिएको उक्त दूतावासले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ । रासस

तपाईको प्रतिक्रिया