Online Bichar
शुक्रबार, मंसिर १२, २०८३ | Friday, November 27, 2026

काठमाडौं, ११ मंसिर २०८३ । नेपाल बार काउन्सिलको ३५औँ अधिवक्ता परीक्षासम्बन्धी विवादमा सर्वोच्च अदालतले महान्यायाधिवक्ताका नाममा जारी म्याद सच्याएर मंसिर १४ गतेका लागि दुवै पक्षलाई अन्तरिम आदेशको छलफलमा डाकेको छ ।

सर्वोच्च अदालतमा शुक्रबार भएको सुनुवाइपछि सर्वोच्च अदालतले महान्यायाधिवक्ताको कार्यालय, काठमाडौंमा जारी भएको म्याद नमिलेको भन्दै बार काउन्सिल केन्द्रीय कार्यालय, कुपण्डोलमा अर्को म्याद जारी गर्न भनेको छ ।

सर्वोच्चका न्यायाधीशद्वय शारङ्गा सुवेदी र गोकर्ण डाँगीको संयुक्त इजलासले मंसिर १४ मा अन्तरिम आदेश छलफलका लागि रिट निवेदक र काउन्सिललाई डाकेको हो ।

काउन्सिलले ३५औँ अधिवक्ता परीक्षाका लागि प्रदेशगत परीक्षा केन्द्र निर्धारण गर्न न्यूनतम ५०० जना परीक्षार्थी हुनुपर्ने मापदण्ड राखेको निर्णय अवैध रहेको दाबीसहित १० जना परीक्षार्थीले सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए ।

परीक्षार्थी सुशान्त पोखरेल समेतले दिएको रिटमा प्रदेशगत रूपमा परीक्षा केन्द्र सञ्चालन नगर्दा निर्णयका कारण आर्थिक, भौगोलिक तथा व्यावहारिक कठिनाइमा पारेको जिकिर सर्वोच्चमा लिएका छन् ।

 

तपाईको प्रतिक्रिया