झापा, १० मंसिर २०८३ । झापामा सरकारले तोकेको न्यूनतम समर्थन मूल्यमा धान खरिद प्रक्रिया मङ्सिर १५ गतेदेखि सुरु हुने भएको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत धान खरिद गर्न लागिएको हो । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलको अध्यक्षतामा आज बिहान भएको प्राथमिक जिल्ला धान खरिद समितिको बैठकले उक्त निर्णय गरेको हो । यस वर्ष झापामा कुल १२ हजार क्विन्टल धान खरिद गरिने छ । सोना मन्सुली (मध्यम) धान आठ हजार क्विन्टल र रञ्जित मन्सुली धान चार हजार क्विन्टल खरिद गर्ने लक्ष्य छ ।
दुवै जातको धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल रु तीन हजार ८६० निर्धारण गरिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीको बिर्तामोडस्थित कार्यालयमार्फत धान खरिद गरिनेछ ।
स्वदेशी कृषि उत्पादनलाई प्रोत्साहन र कृषकलाई उचित मूल्य उपलब्ध गराउने उद्देश्यले सरकारले न्यूनतम समर्थन मूल्य निर्धारण गरेको हो । धान खरिदबिक्री गर्ने कार्यमा स्वस्फूर्त सहभागिता जनाउन प्रजिअ पोखरेलले निजी क्षेत्रका उद्योगी तथा व्यवसायीलाई समेत आग्रह गरेका छन् ।
यसैबीच खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय, बिर्तामोडले एक सूचना जारी गरी कम्पनीले तोकिएको गुणस्तर मापदण्ड अनुसारको धान मात्र खरिद गरिने जनाएको छ ।
धान खरिद कार्य सार्वजनिक विदाको दिन बाहेक हरेक दिन बिहान ९ बजे देखि ३ बजेसम्म सुचारू रहने छ ।
यस कम्पनीमा धान बिक्री गर्न आउने बिक्रेता कृषकहरुले नागरिकताको प्रमाणपत्रको छायाँप्रति तथा जग्गाधनी पुर्जाको छायाँप्रतिको आधारमा १० क्वीन्टलसम्म धान खरिद गरिने र त्यसमाथि अधिकतम १०० क्वीन्टलसम्म नागरिकताको प्रमाणपत्रको छायाँप्रति, जग्गाधनी पुर्जाको छायाँप्रति तथा सम्बन्धित वडा कार्यालय वा स्थानीय तहबाट जारी गरिएको कृषक प्रमाणिकरणको मुल प्रति सिफारिस र सोको छायाँप्रतिसहित अनिवार्य रुपमा लिएर आउनुपर्ने छ।
किसानले कार्यालयसम्म धान आफ्नै खर्चले ल्याउनु पर्नेछ । त्यसपछि कार्यालयमा हुने तौलाई, चौकाई सम्बन्धी खर्च कम्पनीले नै व्यहोर्ने छ ।
धान विक्री वापतको रकम धान बिक्रेता किसानहरुलाई कम्पनीले सिधै निजको बैंक खातामा जम्मा गरिदिने भएको हुँदा धान विक्रेता किसानहरुको बैंक खाता अनिवार्य रुपमा हुनुपर्ने छ । बिक्रेता किसानहरुले चेकको प्रतिलिपि अनिवार्य रुपमा ल्याउनुपर्ने शाखा प्रमुख राजबहादुर राईले जनाएका छन् ।






