Online Bichar
मंगलबार, मंसिर ०९, २०८३ | Tuesday, November 24, 2026

काठमाडौं, ८ मंसिर २०८३ । भन्सारबाट वैधानिक रूपमा आयात भएका सामान ढुवानीकै क्रममा अवैध वस्तुसँग मिसाउने सम्भावना रोक्न सरकारले भन्सार सूचना प्रणाली र सवारीसाधन अनुगमन प्रणाली (भीसीटीएस) लाई एकीकृत गर्ने प्रस्ताव अघि सारेको छ ।

अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्यायले मंगलबार प्रतिनिधिसभाको अर्थ समितिमा विधेयकमाथिको दफावार छलफलका क्रममा भन्सार प्रज्ञापनपत्र स्वीकृत हुनेबित्तिकै त्यसको विवरण स्वतः भीसीटीएसमा प्रविष्ट हुने व्यवस्था गर्नुपर्ने बताए ।

उनले भन्सारबाट वैधानिक रूपमा सामान लिएर निस्किएका सवारीसाधनले बाटोमा अवैध सामान थप्ने वा वैध सामानसँग मिसाएर ढुवानी गर्ने गरेको उदाहरण प्रस्तुत गरे । भैरहवा भन्सारबाट सामान लिएर आएको गाडीमा बुटवलमा चोरीपैठारीका जुत्ता थपेर काठमाडौंको थानकोटमा पक्राउ परेको घटनालाई उनले यसैको उदाहरणका रूपमा उल्लेख गरे ।

यस्ता गतिविधि नियन्त्रण गर्न भन्सारबाट आएका सामानको विवरण र ढुवानी साधनको विवरणबीच स्वचालित सम्बन्ध स्थापित गर्नुपर्ने उनको भनाइ छ ।

सचिव उपाध्यायले आन्तरिक उत्पादनबाट बजारमा पठाइने वस्तुका लागि भीसीटीएसमा विवरण प्रविष्ट गर्ने व्यवस्था कायम राख्दै भन्सारबाट आयात हुने वस्तुको हकमा भन्सारको अनलाइन सूचना प्रणालीसँगै आबद्ध गर्नुपर्ने प्रस्ताव गरे । उनले चोरीपैठारी र भीसीटीएसमा विवरण प्रविष्ट नगर्ने विषय फरक रहेको पनि बताए ।

भन्सारबाट वैधानिक रूपमा आएका सामानको विवरण भीसीटीएसमा प्रविष्ट नगरेमा पहिलोपटक ५० हजार र त्यसपछि एक लाख रुपैयाँ जरिबाना गर्ने व्यवस्था प्रक्रियागत विषय भएको उनले बताए । चोरीपैठारीमा संलग्नलाई भने छुट्टै कानुनी व्यवस्थाअनुसार कारबाही हुने उनको भनाइ छ ।

त्यस्तै, भीसीटीएससम्बन्धी मापदण्ड कार्यान्वयन गर्नुअघि व्यवसायीलाई पर्याप्त समय दिएर जानकारी गराउनुपर्ने उनको भनाइ छ । आन्तरिक राजश्व विभागले मापदण्ड तयार गरी कार्यान्वयन हुनुभन्दा निश्चित दिनअघि नै सार्वजनिक गर्ने व्यवस्था कानुनमा राख्नुपर्ने उनले बताए ।

यस्तो छ सचिव उपाध्यायको भनाइ:

भेहिकल ट्र्याकिङ सिस्टमबारे स्पष्ट पार्न चाहन्छु । यो प्रणाली भन्सारबाट वैध रूपमा प्रज्ञापनपत्रमार्फत आएका सामानको आन्तरिक ढुवानीका क्रममा बीच बाटोमा अन्य सामान थप्ने वा अनलोड गर्नेजस्ता गतिविधि नियन्त्रण गरी ढुवानीलाई ट्र्याक गर्न विकास गरिएको हो । चोरीपैठारीबाट आएका सामानको हकमा छुट्टै कानुनी व्यवस्था र कडा कारबाहीको प्रावधान छ । भेहिकल ट्र्याकिङ सिस्टममा जरिबाना भनेको भन्सारबाट वैध रूपमा आएका सामानको विवरण प्रणालीमा प्रविष्ट नगरेको अवस्थामा पहिलो पटक ५० हजार र त्यसपछि एक लाख रुपैयाँ लाग्ने प्रक्रियागत जरिबाना हो । यी दुई विषयलाई एउटै रूपमा हेर्नु हुँदैन ।

यस प्रणालीलाई थप प्रभावकारी बनाउन भन्सार प्रज्ञापनपत्र अनलाइन प्रणालीसँग भेहिकल ट्रयाकिङ सिस्टम आबद्ध गर्न आवश्यक छ । भन्सार प्रज्ञापनपत्र स्वीकृत हुनेबित्तिकै त्यसको विवरण भेहिकल ट्र्याकिङ सिस्टममा स्वतः प्रविष्ट हुने व्यवस्था गर्न सकिन्छ । आन्तरिक उत्पादनका सामानका हकमा भेहिकल ट्रयाकिङ सिस्टममा विवरण प्रविष्ट गर्ने र भन्सारबाट आएका सामानका हकमा भन्सार सूचना प्रणालीसँग आबद्ध गरी अनुगमन गर्ने व्यवस्था उपयुक्त हुन्छ ।

त्यसैले उपदफा ५ मा वेबमा आधारित अनलाइन ढुवानी अनुगमन प्रणालीलाई भन्सार सूचना प्रणालीसँग आबद्ध गरिने व्यवस्था थप्न प्रस्ताव गर्दछु । त्यसैगरी, मापदण्ड तयार गरी लागु गर्दा आन्तरिक राजस्व विभागले पर्याप्त समयअघि प्रकाशित गरी सम्बन्धित सबैलाई पूर्वजानकारी दिने व्यवस्था राख्नु उपयुक्त हुन्छ । हरेक मापदण्ड राजपत्रमा प्रकाशित गर्नुपर्ने व्यवस्था गर्दा प्रक्रिया अनावश्यक रूपमा लामो हुन सक्छ । अतः भेहिकल ट्रयाकिङ सिस्टम र भन्सार सूचना प्रणालीबीच एकीकरण गर्ने तथा मापदण्ड पूर्वप्रकाशन गरी सरोकारवालालाई सुसूचित गर्ने व्यवस्था समावेश गर्न माननीय सदस्यहरूमा अनुरोध गर्दछु । न्युज एजेन्सी नेपाल

तपाईको प्रतिक्रिया