काठमाडौं, ३० कार्तिक २०८३ । हेटौंडा-काठमाडौं रुटमा चल्ने यात्रुबाहक भाडाका एवं सार्वजनिक सवारीसधानहरू पूर्ण रूपमा जाँचपछि मात्रै सञ्चालन गर्न दिइने भएको छ ।
हेटौंडाबाट भैंसे-भीमफेदी-कुलेखानी हुँदै सिस्नेरी वा फाखेल सडक खण्डबाट काठमाडौं आउजाउ गर्ने यात्रुबाहक सवारीसाधनहरू पूर्ण रूपमा जाँचपछि मात्रै सञ्चालन गर्न दिइने सोमबार जिल्ला प्रशासन कार्यालय मकवानपुरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
पछिल्लो समय यो रुटमा दुर्घटना बढेको भन्दै प्रशासनले यात्रुवाहक सवारीसाधनमाथि कडाइ गर्न लागेको हो ।
मकवानपुरभित्र उक्त रुटमा पर्ने प्रहरी युनिट तथा ट्राफिक प्रहरीले समेत कडाइका साथ भाडाका एवं यात्रुबाहक प्रत्यके सवारीसाधन अनिवार्य रूपमा चेकजाँच गर्ने व्यवस्था मिलाउन समेत प्रशासनले निर्देशन दिएको छ ।
साथै यी रुट भएर सञ्चालन हुने यात्रुबाहक सवारीसाधनहरू बिहान साढे ५ बजे चौकीटोला तथा साँझ ६ बजेभित्रमा भैंसे प्रहरी चेक पोस्ट पार भइसकेको हुनुपर्नेछ । बिहान ५ बजेपछि मात्रै भैंसे प्रहरी चेकपोष्टबाट उक्त रुटमा चल्ने यात्रुबाहक सवारी साधनहरू सञ्चालन हुने छ ।






